धनगढी १० भदौ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बलवहादुर ऐर मंगलवार राति त्रिनगर नाकाबाट पक्राउ परेका छन्। उनले कोरोना कहरका बीच तीन जना भारतीय नागरिकलाई नेपाल भित्र्याएको आरोप लागेको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नेपाल प्रबेश गराइएका हरुलाई क्वारेन्टिनमा राख्न खोज्दा वडाध्यक्षले रोक्न खोजेको बताए। मैले ल्याएको मान्छेलाई रोक्न खोज्ने को हो भन्दै वडाध्यक्षले राति मदिरा सेवन गरी होहल्ला गरेको खबर पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले वडाध्यक्ष ऐरलाई रातीनै त्रिनगर नाकाबाट पक्राउ गरेको जनाएको छ। प्रहरी निरीक्षक दानवहादुर रोकायाका अनुसार मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि ऐरलाई पक्राउ गरिएको हो।
ती तीन मध्ये धनगढी भित्र्याएकी भारतीय महिलाका सासु, ससुरा उपमहानगरपालिका –३ पशुपति टोलमा बस्दै आएका छन्। महिलाले भारतीय नागरिकसँग विवाह गरेकी छन्। केही समययता ती महिला आफ्ना श्रीमान र नन्दसंग भारतको पन्जावको लुधियाना गएकी थिइन् ।
प्रहरीले उनलाई नेपाल प्रवेश गर्न दिएन्। दाइले आफ्नो बहिनी, ज्वाईलाई नेपाल आउन नदिएको भन्दै वडाध्यक्ष ऐरसंग गुनासो गरेका थिए। त्यसपछि वडाध्यक्षले तीनै जनालाई प्रवेश गराए। उनीहरुलाई धनगढी भित्राएपछि रंगशालामा रहेको क्वारेन्टिनमा राख्ने तयारी भएको थियो। स्थानीय प्रशासनले भारतीय नागरिकलाई समेत प्रवेश अनुमती दिएर क्वारेन्टिनमा पुर्याएको जानकारी पाएपछि वडा प्रहरी कार्यालय धनगढीको टोलीले भारतीय नागरिकलाई नाकाबाट फर्काउन निर्देशन दियो।
त्रिनगर पुर्याएका तीन जना दशगजामै थिए। प्रहरीका अनुसार त्यसपछि त्रिनगर नाका पुगेका वडाध्यक्ष ऐर र प्रहरी विच नेपाल प्रवेश गराउनका लागि विवाद सिर्जना भएको थियो। प्रहरीका अनुसार मदिरा सेवन गरेका ऐरले होहल्ला गरेपछि पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले भारतीय नागरिकलाई प्रवेश गराएकोमा वडाध्यक्ष ऐरमाथि अनुसन्धान भईरहेको बताए।