धनगढी। धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ को ट्रफी सार्वजनिक गरिएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले ट्रफी सार्वजनिक गरेका हुन् ।सोमबार देखि सुरु हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै नगरप्रमुख वडले प्रतियोगिताले धनगढीलाई क्रिकेटको सहर बनाउन मद्दत पुग्ने बताए ।
प्रतियोगिताको मुख्य प्रायोजक धगनढी उपमहागरपालिका रहेको छ ।प्रतियोगितामा काठमाडौं, कैलाली र कञ्चनपुरका गरी १० वटा विद्यालयको सहभागी रहने आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिएका छन । अण्डर –१९ टि–२० फरम्याटमा खेलाइने प्रतियोगितामा सहभागी १० विद्यालयका टिमलाई समूह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ ।
जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस, वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् ।त्यसै गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् ।
यस्तै सोमबारदेखि हुने उद्घाटन खेलमा पाँचौँ संस्करणको उप–विजेता तथा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्ने छन् । प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।त्यसैगरि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीलाई १०/१० हजार प्रदान गरिनले शाहीले जानकारी दिए ।प्लेयर अफ द म्याचका साथै आसन्न संस्करणबाट प्रत्येक खेललाई थप रोमाञ्चक बनाउन गेम चेन्जर अवार्ड र सर्वोत्कृष्ट छक्का प्रहारको अवार्ड समेत थप गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता यही फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।