बझाङ। बझाङ जिल्लाको सबैभन्दा दुर्गम हिमाली गाउँपालिकाको रूपमा रहेको साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । माघ महिनाको १९ गते रातिदेखि तीन दिनसम्म लगातार भएको हिमपातका कारण साइपालमा खाद्यान्न अभाव भएको हो ।
काँडामा रहेको खाद्य संस्थानको डिपोमा पनि खाद्यान्न नभएपछि अहिले साइपाल गाउँपालिकाको तीनवटा वडाका झण्डै तीन सय परिवार खाद्य संंकटमा परेको साइपाल गाउँपालिका-३ का स्थानीय उज्वल बोहराले बताए ।गाउँपालिकाको वडा नम्बर ५ न्युना र बलौढीका १३६ परिवारमध्ये ११५ परिवार, वडा नं. ४ धुलीका ५२ परिवार र वडा नं. ३ काँडाका १४० परिवार मध्ये १२१ परिवार गरी २६१ परिवार खाद्य संकटमा परेका छन् । अघिल्लो हप्ता हिमपात भएपछि साइपाल गाउँपालिकामा भोकमरी हुने अवस्था आएको स्थानीय बोहराको भनाइ छ ।
साइपाल गाउँपालिकामा अहिले ४ फिटभन्दा बढी हिउँ जमेको छ । एक गाउँबाट अर्को गाउँ जान पनि समस्या भएका कारण गाउँपालिकामा खाद्यान्न अभाव भएको साइपाल गाउँपालिका उपाध्यक्ष कल्पना बोहराले बताइन् ।उनले भनिन्, ‘गाउँपालिकामा भोकमरी हुने अवस्था सिर्जना भएको छ। गाउँपालिकाका तीनवटा वडामा चरम खाद्यान्न अभाव भएको र अन्य दुईवटा वडामा पनि खाद्यान्न अभाव भएको छ । सरकारले साइपालवासीका लागी हेलिकप्टरमार्फत् भए पनि खाद्यान्न ढुवानी गर्न आवश्यक रहेको छ।’ साइपाल गाउँपालिकामा नै खाद्य संस्थानको डिपो रहेको भए पनि उक्त डिपोमा समेत खाद्यान्न अभाव रहेको छ।
पुस महिनामा दुई फिटभन्दा बढी हिउँ जमेपछि वडा नं. २ मा खाद्यान्न अभाव भएको कारण डिपोको चामल वितरण गरिएको थियो ।डिपोको चामल सकिएपछि त्यसयता साइपाल गाउँपालिकामा चामल ढुवानी हुन सकेको छैन ।फेरि माघ महिनाको तेस्रो साता भएको हिमपातले झनै समस्या भएको साइपाल गाउँपालिकाका घुरन बोहराले बताए। ‘एक साताभित्र चामल ढुवानी नभएको खण्डमा साइपाल गाउँपालिकामा भोकमरी हुने अवस्था सिर्जना हुन्छ’, उनले भने ।गाउँपालिकाले खाद्यान्न अभाव भएको भए पालिकाबाटै भए पनि ढुवानी गर्नु पर्ने हो, तर कुनै चासो नदिएको साइपाल गाउँपालिका वडा नं ३ का शेर बहादुर बोहराको आरोप छ ।
उनले भने, ‘गाउँपालिकाले विपदको बेला स्थानीयहरूलाई राहत दिनका लागी ठूलो रकम छुट्याउनु पर्ने भए पनि गाउँपालिकाले ध्यान नदिँदा समस्या भएको हो ।’साइपाल गाउँपालिकामा चामल ढुवानीका लागी भन्दै ४ लाख रुपैयाँ पुष महिनामा नै ठेकेदारलाई बुझाएको भए पनि ठेकेदारले कुनै चासो नदिएको साइपाल गाउँपालिकाका स्थानीयले बताएका छन् ।४ दिनदेखि हिउँ जमेको बाटोमा पैदल हिँडेर चैनपुर पुगेका बिर्ख बोहराले भने, ‘चामलका लागि पैसा दिएको महिना दिनभन्दा बढी भइसकेको भए पनि गाउँमा चामल पुगेको छैन । गाउँमा खानलाई चामल छैन । जनप्रतिनिधिहरूले पनि कुनै चासो दिएका छैनन् ।’
जिल्ला सदरमुकाम चैनपुरदेखि ४ दिनको पैदल हिँडेपछि मात्र साइपाल गाउँपालिका पुगिन्छ । सडकसञ्जालसँग नजोडिएका कारण साइपाल गाउँपालिकामा खाद्यान्न अभावको समस्या बेला बेला हुने गरेको छ ।यता चामल ढुवानीका लागि जिम्मा लिएका जयपृथ्वी नगरपालिका वडा नं। १० का वडा अध्यक्ष दल बहादुर विष्टले साइपाल गाउँपालिकामा खाद्यान्न ढुवानी भइसकेको दाबी गरेका छन् ।साइपाल गाउँपालिकामा यातायात सञ्जाल नभएका कारण भेडाबाख्राबाट चामल ढुवानी गरिसकेको उनले बताए ।‘गाउँपालिकाको सबै गाउँका लागि चामल ढुवानी भइरहेको छ । केही स्थानमा चामल पुगिसकेको र केही गाउँका लागि चामल ढुवानी भइरहेको छ । केही दिनमा साइपाल गाउँपालिकाको सबै क्षेत्रमा चामल पुग्ने छ’, उनले भने ।जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साइपाल गाउँपालिकाका लागि सदरमुकाम चैनपुरबाट चामल ढुवानी भइसकेको छ।
बिहीवार मात्र साइपाल गाउँपालिकाको वडा नं। ४ धुलीमा १० बोरा, र लासीका लागि २८ बोरा चामल गाउँ पुगेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।उनले भने, ‘दुइ सयभन्दा धेरै परिवारलाई खाद्यान्न अभाव भएको भन्ने जानकारी आएको छ । तर, यति चामलले पर्याप्त भने हुँदैन । आवश्यक चामल ढुवानीको क्रममा रहेको छ । शुक्रवार मात्र जिल्ला सदरमुकाम चैनपुरबाट ९ क्विन्टल चामल साइपाल पठाइएको छ ।’यता, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भने साइपाल गाउँपालिकामा खाद्यान्न उपलब्ध गराउनका लागि पहल भइरहेको बताएका छन् ।गाउँपालिकाले पनि खाद्यान्न अभाव भएको भन्ने जानकारी गराएको र खाद्य संस्थानबाट पनि खाद्यान्न अभाव रहेको जानकारी आएका कारण चामल ढुवानीका लागी प्रदेश र केन्द्रमा परिपत्र गरिसकेको जिकिर गरे । केही दिनमा नै साइपाल गाउँपालिकामा चामल पुग्छ । तर, हालसम्म गृह मन्त्रालयले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । हेलिकप्टरमार्फत् साइपाल गाउँपालिकामा चामल ढुवानीका लागी पहल भइरहेको छ’, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।