अछाम। अछाममा निजी कामकालागि सरकारी गाडीको चरम दुरुपयोग गरेको पाइएको छ। अछाममा सरकारी कामकाजबाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडीको दुरुपयोग बढ्दै गएको पाइएको छ।
जनप्रतिनिधि र सरकारी कर्मचारीले आफू अनुकूल सरकारी गाडीको प्रयोग गरी विभिन्न मेला महोत्सव, घुमघाम र निजी काममा सरकारी गाडी प्रयोग भइरहेका छन् । तर कुनै पनि निकायले गाडी दुरुपयोग भएको नियमन गरेको छैन । शनिबार अछामको सदरमुकाम मंगलसेन ठूलासेनमा हिउँमा रमाइलो गर्न जानका लागि प्रयोग गरिएको सरकारी सवारी प्रयोग गरिएको भेटिएको छ।
एक प्रत्यक्षदर्शीका अनुसार हिमपात भएपछि रमाइलो गर्न र घुमघाम गर्नेको घुइँचोमा सरकारी मोटरसाइकल र स्थानीय तहका गाडीले आफ्ना नातेदारलाई गाडीमा ल्याउने पुर्याउने पटक-पटक गरे । ठूलासेनमा शनिबार सरकारी गाडी व्यक्तिगत कामका लागि धेरै चलेको उनले बताए । उनले भने, ‘मंगलसेन नगरपालिकाको गाडीले नै जनप्रतिनिधिका परिवारलाई ल्याउने पुर्याउने काम गरेको देखेँ। अन्य सरकारी मोटरसाइकल त ठूलासेनमा शनिबार धेरै आएको बताए । उनले भने, ‘गाउँमा जनप्रतिनिधिका परिवार र आफन्तको घमण्ड छुट्टै छ । कसैले मोटरसाइकल कुदाएर लैजान्छन्। धेरैजसो वडा अध्यक्षका मोटरसाइकलको दुरुपयोग भएको स्थानीय बताएका छन्।
कतिपय अध्यक्षहरूले लिएका बाइकहरू कहाँ छन् पत्तो नभएकाले खोजीनिती गर्नुपर्ने बताएका छन्। एक कर्मचारीले धेरै वडा अध्यक्ष र कर्मचारीसँग सवारी लाइसेन्ससमेत नभएको बताए । सरकारी साधनको दुरुपयोग भएको देख्दा स्थानीयसमेत दिक्क भएका छन्। ‘शनिबार धेरैजसो वडा अध्यक्ष, प्रमुख र उपप्रमुखका गाडी ठूलासेनमा पुगेका थिए। मंगलसेन नगरपालिका–५ का विष्णुप्रसाद ढुंगानाले ट्राफिक प्रहरी पनि चेकजाँचमा गरिरहेपनी सरकारी गाडीहरू धमाधम चलिरहेको बताए। सार्वजनिक बिदा र शनिबार सरकारी गाडीहरू चलाउन नपाइने भए पनि त्यसलाई निगरानी गर्न नसकेको मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए।
‘सार्वजनिक बिदाको दिन सरकारी गाडीहरू चलाउन त नमिल्ने भएपनि कहिलेकाहीँ कर्मचारी र जनप्रतिनिधिले प्रयोग गरेको उनले जानकारी दिए ।अछामका प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले सरकारी गाडीको दुरुपयोग रोक्नका लागि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।सार्वजनिक खर्च घटाउन सरकारले सरकारी गाडी सञ्चालनमा यसअघि नै कडाइ गरेको थियो । सार्वजनिक बिदाको दिन सरकारी गाडी सञ्चालन गर्न अनुमति लिनुपर्ने प्रावधान छ । सरकारी कामबाहेक शनिबारको दिन सरकारी सवारीसाधन चलाउन नपाइने नियमको सरोकारवालाले नै उल्लंघन गरेको पाइएको छ ।