बझाङ । बझाङमा बाढीले बगाएको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने जाल्याबगर सडक निर्माण कार्य सुरु भएको छ । गएको असोज ३१ गते देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने जाल्याबगरमा सडक पूर्ण रुपमा क्षति गरेको थियो। उक्त सडक निर्माणको कार्य अहिले तीव्र गतिमा सुरु भएको हो।
ड्रागन जगदम्बा सुर्मा सरोबर जेभीले ५ करोड ६० लाखको लागतमा अहिले यो सडक निर्माणको कार्य सुरु गरेको हो । सडक डिभिजन बैतडीले ७ करोड ५० लाख रुपैयाँको टेन्डर आह्वान गरेको भए पनि ड्रागन जगदम्बा सुर्मा सरोबर जेभीले भ्याटसहित ५ करोड ६० लाख रुपैयाँमा ठेक्का पाएको ड्रागन जगदम्बा सुर्मा सरोबर जेभीका सञ्चालक शेरबहादुर बोहराले जानकारी दिए। ‘बैशाख अन्तिमसम्म सडक निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
हामीहरु समयभन्दा अघि नै सडक निर्माणको कार्य सम्पन्न गर्ने तरिकाले तीव्र गतिमा काम गरिरहेको उनले बताए । उनले भने, अहिले ७० जना भन्दा बढी कामदार र ४ वटा जेसीबी लगाएर काम भइरहेको छ, फागुनको पहिलो हप्ताभित्र आरसीसीको काम समेत सुरु हुने बताए । जाल्या बगरको भित्तामा सडक कटान गर्नुपर्ने क्षेत्र पूरै कडा चट्टानको भएका कारण बलाष्टिङको समेत काम गर्नु पर्ने देखिन्छ । काम तोकिएको अवधिभित्रै सम्पन्न गर्ने आफ्नो तयारी भए पनि ब्लास्टिङ गर्ने सामाग्रीहरु समयमा नपाए केही समय लम्बिन सक्ने बोहोराको भनाई छ । उनका अनुसार ४५ मिटर जाली हाल्ने काम छ । एक सय ६० मिटर आरसीसीसहित स्ट्रक्चर गर्नु पर्ने छ भने जम्मा ४ सय मिटर स्ट्रक्चर, आरसीसी कटिङ, तथा ब्लाष्ट गर्नु पर्ने देखिन्छ ।