बैतडी। बैतडीको सुर्नया गाउँपालिका ६ का ३० बर्षीय डम्मर अवस्थीको हत्या प्रकरणमा प्रहरीले थप दुइजना पक्राउ गरेको छ। बैतडीका प्रहरी निरिक्षक बोध राज ओझाका अनुसार गाउँकै शिक्षक समेत रहेका रमाकान्त अवस्थी र गोपाल अवस्थीलाइ शुक्रबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक ओझाले घटनाको थप अनुसन्धानकै क्रममा दुवै जनालाइ पक्राउ गरेको बताए । उनले भने ‘घटनाका बिषयमा दुई जनालाई पक्राउ गरि अदालतबाट दुई दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका छौ । उनीहरूमाथि थप अनुसन्धान हुँदैछ ।’ परिवारले दिएको जाहेरीका आधारमा थप दुई जनालाइ पक्राउ गरिएको जनाएको छ ।
यसअघि डम्मरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका हरिश अवस्थी र नवराज अवस्थीले हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन् । उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक खड्काले बताए ।गएको मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पौष २८ गते फेला परेको थियो । उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो ।