दार्चुला। अगामी विहिबार देखि विद्यालयका छात्रछात्रालाई कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ वर्ष देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन यही माघ २० गते देखि २३ गते सम्म विद्यालय खुलाइने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । ।
जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन चार दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।उनका अनुसार विद्यालयका पठनपाठन भने माघ मसान्तसम्म नै बन्द हुनेछ । जिल्लामा एक १४ हजार बढी विद्यार्थीले मोर्डना खोपको पहिलो डोज लगाएका छन् । सबै पालिकामा खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जय राज भट्टले बताए ।
डीसीसीएमसीको बैठकले कतिपय निजी विद्यालयले अहिले पनि पठनपाठन गराइराखेकाले यसमा निगरानी गर्ने, आमसभा, जुलुस, भेला तथा धेरै मानिस भीडभाड हुने कार्यक्रम अर्को व्यवस्था नहुञ्जेल सञ्चालन नगर्नेसमेत निर्णय गरेकोे प्रजिअ उपाध्यायले जानकारी दिए । जिल्लाका सामुदायिक विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका २० हजार भन्दा बढि विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुुलाले जनाएको छ । दार्चुलाका १२–१७ वर्ष उमेरका विद्यार्थीको लागि २० हजार डोज मोडर्ना खोप आइपुगेको छ ।
२० माघ देखि २३ माघ सम्म लक्षित उमेर समूहका लागि खोप लगाइसक्ने लक्ष्य अनुसार उक्त खोप शनिबार स्वास्थ्य कार्यालय दार्चुला आइपुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । अगामी विहिबार देखि अगामी आइतबार सम्म जिल्लाका १३६ वटा खोप केन्द्रमार्फत विद्यार्थीहरुलाई खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । गत पौष ५ गते देखि ८ गते सम्म जिल्लाका सम्पुर्ण विद्यालयहरुमा अध्ययनरथ बालबालिकाहरुलाई दोस्रो मात्रा खोप दिने निर्णय भएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी कार्कीले जानकारी दिनु भएको छ ।
मोडर्ना खोपको पहिलो मात्रा खोप लगाउन छुट भएका १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई पनि विद्यालयका खोपकेन्द्रहरुमा खोप लगाउने निर्णय गरेको छ । दार्चुलामा गत पौष ५ गते देखि ८ गते सम्म १२ वर्षदेखि माथिका करिब १४ हजार भन्दा बढि बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिइएको छ । मोडर्ना खोप कार्यक्रम मार्फत जिल्लाका १४ हजार ५ सय ३७ जना विद्यार्थीलाई मोडर्ना खोप दिइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । करिब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै सुरु भएको अभियान पुस ८गते सम्पन्न भएको थियो ।