कञ्चनपुर। कञ्चनपुरमा बेवारिसे अवस्थामा छोडिएको मोटरसाइकल र २२ किलो १५० ग्राम लागुऔषध चरेश बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलिले कञ्चनपुरको बेलौरी नगरपालिका-३ बुटाबारीमा उक्त लागुऔषध चरेश बरामद गरेको हो ।
बेलौरी नगरपालिका-३ बुटाबारीमा यूपी ३१ एपी २२५६ नम्बरको मोटरसाइकलमा हरियो कट्टामा डोरीले बाँधेर राखेको २२ किलो १५० ग्राम लागुऔषध चरेश बरामद गरिएको प्रहरीले बताएको छ। हरियो कट्टामा डोरीले बाँधेर राखेको अवस्थामा शंका लागि चेकजाँच गर्दा प्रहरीले ४० पोका ठूलो र ४० पोका सानो गरी ८० पोकामा राखिएको उक्त चरेश बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।