बाजुरा। बाजुरा जिल्ला अस्पतालले शववाहन र एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जिल्ला अस्पतालले सञ्चालन स्वामित्व आफैमा रहने गरि एम्बुलेन्स र शवाहन सञ्चालनमा ल्याएको हो ।
लामो समयको प्रतिक्षा पछि बाजुरा जिल्ला अस्पतालले पहिलो पटक शवाहन र एम्बुलेन्स सञ्चालनमा ल्याएको कार्यालय प्रमुख डाक्टर प्रकाशराज जैशीले बताएका छन् । गएको असार भित्रै ल्याउने तयारी गरिएपनि खरिद प्रक्रियाका कारण ढिलाई भएको थियो ।
बिज्ञापन
बाजुरा जिल्ला अस्पतालले एकसाथ दुई वटै सवारी साधन सञ्चालनमा ल्याएको औपचारिक जानकारी गराएको छ । भन्सारमा लाग्ने कर छुट गरेर १० लाख लागतमा खरिद गरि एम्बुलेन्स र श्ववाहन सञ्चालनमा ल्याएको अस्पतालले बताएको छ ।आर्थिक वर्ष ०७६/७७ मा शववाहन र एम्बुलेन्स खरिदका लागि रकम आएको थियो । आएको रकम खरिद गर्न नसकेर रकम फिर्ता भएको थियो । फेरि आर्थिक वर्ष ०७७/०७८ मा बजेट आएपछि खरिद गरिएको हो ।
रेडक्रस सहीतका निकायले सञ्चालन गरेका एम्बुलेन्स भएपछि सञ्चालनमा व्यवस्थीत नहुँदा विरामीले सास्ती भोग्नु परेको थियो । जिल्लामा विरामी बोक्ने एम्बुलेन्स नै नहुँदा महँगो सवारी जिपमा भाडा तिरेर विरामी अन्यन्त्र लैजानु पर्ने बाध्यता थियो ।बाजुरा जिल्लामै शववाहन नहँुदा कोरोनाबाट मृत्यु भएकालाई फोहोर बोक्ने टिप्परले शव बोक्नु पर्ने बाध्यता रहेको थियो । पहिलो पटक शववाहन सञ्चालनमा आएपछि शव ब्यबस्थापन गर्न तथा बोक्न सहज हुने भएको छ ।
बडिमालिका नगरपालिकालाई भारतीय राजदुताबासले ५ बर्ष पहिले हस्तान्तरण गरेको एम्बुलेन्स भने सञ्चालनमा नआउदै अलपत्र अबस्थामा छ । जिल्लामा हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र बुढिगंगा नगरपालिकाले एम्बुलेन्स सञ्चालन गरेका छन् । तर जिल्ला सदरमुकाम मार्तडीमा सवारी बोक्ने जिपकै प्रयोग गर्नु परेको अवस्था थियो ।हाल जिल्लामा ३ वटा एम्बुलेन्स बिग्रेर अलपत्र अबस्थामा रहेका छन् । बाजुरा जिल्ला अस्पतालले शववाहन र एम्बुलेन्स व्यवस्थीत रुपमा सञ्चालन गर्न सके गरिब तथा विपन्न परिवारका विरामीलाई थप सहज हुने विश्वास गरिएको छ ।