डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिका–५ मा अवैध रूपमा सिसौका रूख कटानमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालय डडेल्धुराले छोडेको छ।
भुवनेश्वरी नमुना मावि परिगाउँका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई वन कार्यालयले छोडेको हो। प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई चारजनाको जमानीमा छाडिएको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत रणेन्द्र सिंहले जानकारी दिए।
‘प्रारम्भिक रिपोर्टअनुसार मुद्दा अगाडि बढाएका थियौँ। अदालतबाट म्याद थप गरेर हिरासतमा राख्न निवेदन पेश गर्दा अदालतले स्वास्थ्य परीक्षण गरेर ल्याउन निर्देशन दिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गरियो। स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि दुवैजनालाई छोडिएको छ’, उनले भने। उनीहरूको सम्पर्कमा आएका कर्मचारी होम आइसोलेसनमा बसेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ।
नजिकका स्थानीयको घर र वडाध्यक्षको घरमा लुकाएर राखिएको भन्ने कुरा आएकाले भोलिदेखि खान तलासी गर्ने वन अधिकृत सिंहले बताए।डिभिजन वन कार्यालय डडेल्धुराले अवैध रूपमा काटिएका सिसौ र हल्दोका गरी १८८.८० क्युफिट काठ कटान भएको तीन दिनपछि मात्रै बरामद गरेको थियो।प्रारम्भिक विवरणअनुसार सिसौका ८ र हल्दोका दुई रूख काटिएको पाइएको थियो। रूख कटान भएको पाँच दिन भइसक्दा समेत पूर्ण विवरण नआएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
अनुसन्धान तीव्र गर्नुपर्ने भए पनि डोजर प्रयोग गरी खाडलमा पुरेको काठ र स्थानीयको घरमा लुकाएर राखेको काठ बरामद नगरेको उनीहरूको आरोप छ। डिभिजन वन कार्यालयले कर्मचारी अभाव भएकै कारण अनुसन्धानमा ढिलो भएको बताएको छ।परशुरामधाम सब डिभिजन कार्यालय जोगबुढाका प्रमुख सन्तोष भट्टले मौखिक रूपमा रूख कटान गर्न अनुमति दिएको र स्वयं भट्ट संलग्न रहेको अवस्थामा उनीलाई नै अनुसन्धान अधिकृत तोकिनु शंकास्पद भएको स्थानीयको भनाइ छ।