धनगढी। निर्सग अस्पतालमा जटिल र जोखिमपूर्ण मानिने पेल्भीस फ्र्याक्चरको सफलतापुर्वक शल्यक्रिया गरिएको छ । एक पछि अर्को गर्दै विभिन्न प्रकारका हाडजोर्नी सम्बन्धि जटिल शल्यक्रियाहरु गर्न उक्त अस्पताल सफल भएको हो।
अति नै जटिल र जोखिमपूर्ण मानिने पेल्भीस फ्र्याक्चरमा शल्यक्रिया हाडजोर्नी विशेषज्ञ डा. श्रीराम खाती, डा.ओमकार बिष्ट तथा एनेस्थेसियोलोजिष्ट डा हेमन्त ओझाको टिम एकदमै सक्रिय रहँदै सेवा दिँदै आईरहेको छ ।यस्तो चोट एकदमै ठुलो दुर्घटनाहरुमा मात्र लाग्ने र धेरै रक्तस्राव भएर टाउको, छाती वा पेटको चोटले ज्यान सम्म जान सक्ने भएकाले मध्यरातमा बिरामीको आकस्मिक उपचार गर्दै बिरामीलाई रगत चढाउने जोहो गरेर अर्को दिन बिहानै शल्यक्रिया गर्ने निर्णय लिएको हाडजोर्नी विशेषज्ञ डा. श्रीराम खातीले बताए ।
यस्तो शल्यक्रिया ठुल्ठुला मेडिकल कलेज तथा सुबिधासम्पन्न अस्पतालहरूमा मात्र हुने गरेको उनको भनाइ छ। हाडजोर्नी सम्बन्धि जुनसुकै समस्याको लागि पनि बिरामीले टाढा जानुपर्ने समस्यालाई मध्यनजर गर्दै आफूलगायत आफ्नो टिमले उक्त बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्दै यस्ता जटिल शल्यक्रियाहरु पनि सुदूरपश्चिममै गरेर सेवा दिन पाउँदा एकदमै खुसी भएको महसुस गरेका छन् ।