धनगढी। अबदेखि सरकारी अस्पतालहरूमा समेत पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा सेवाग्राहीले शुल्क तिर्नुपर्ने भएको छ ।
धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आठ सय रुपैया शुल्क लाग्ने भएको छ। प्रादेशिक अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आफ्नै इच्छाले कोरोनाको परीक्षण गराउँदा सेवाग्राहीले आठ सय रुपैया शुल्क तिर्नुपर्ने जनाएको छ।
स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाइको निर्णय अनुसार पिसिआर परीक्षणको शुल्क तोकिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीका अनुसार अबदेखि वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि अवथा अन्य कुनै प्रयोजनका लागि वा आफ्नै इच्छाले कोरोनाको परीक्षण गराउदा सरकारी अस्पतालहरूमा शुल्क लाग्ने छ ।
उनले विशेषज्ञ चिकित्सकले सिफारिस गरेका बिरामीहरूको पिसिआर परीक्षण गर्दा भने शुल्क लाग्ने छैन । यसअघि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण गर्दा आठ सय रुपैया शुल्क तोकेको छ । यस्तै एक हजार पाँच सय शुल्क तिरेर निजी प्रयोगशालामा पिसिआर परीक्षण गराउन सकिनेछ ।