डोटी। डोटीमा औद्योगिक ग्राम निर्माण गर्ने योजना बजेट अभावले अलपत्र परेको छ । मन्त्रीस्तरीय निर्णयबाट दुई वर्षअघि डोटीमा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय भए पनि अहिलेसम्म अलपत्र परेको हो ।
देशभर घोषणा भएका ४५ औद्योगिक ग्राममध्येको डोटीको जोरायल गाउँपालिका–२ बुडरस्थित धारापानीमा निर्माण हुन लागेको औद्योगिक ग्राम बजेट अभावले अलपत्र परेको जनाएको छ । ग्राम निर्माणका लागि संघीय सरकारबाट आर्थिक वर्ष २०७६/७७ मा ९२ लाख निकासा आएकोमा ८३ लाख ६० हजार मात्र खर्च भएको गाउँपालिकाले जनाएको छ ।
उक्त रकमबाट औद्योगिक ग्राम क्षेत्रमा सडक, खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबारलगायतका संरचना निर्माण सुरु भए पनि बजेट अपुग भएपछि काम रोकिएको छ ।‘बजेट अभावले काम अघि बढ्न सकेको छैन,’ जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले भने, ‘यसबारे विभागसँग नियमित छलफल भएको छ, विस्तृत अध्ययन गरेर चाँडै बजेट निकासा गरिने विश्वास छ ।’ उक्त क्षेत्रमा औद्योगिक ग्राम निर्माणकालागि भौतिक संरचना निर्माण सुरुमा निकै तीव्र रूपमा भएपनि अहिले सुस्ताएको छ । कुल ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माण कार्य भइरहेको छ ।
यद्यपि कम्तीमा पनि ५ सय रोपनीसम्म जग्गा आवश्यक पर्ने स्थानीय बताउँछन् । सामुदायिक वन क्षेत्रमा औद्योगिक ग्राम निर्माण भएकाले थप जमिन प्राप्तिका लागि विभिन्न कानुनी अड्चन आउन सक्ने अनुमान गरिएको छ । औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखाले आर्थिक वर्ष ०७७/०७८ मा १३० स्थानीय तहमा औद्योगिक ग्रामका लागि प्रस्ताव गर्न पत्राचार गरे पनि डोटीका कुनै पनि तहले घोषणा गरेका छैनन् । २०७६ माघ २० गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले बुडरस्थित धारापानीमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको थियो ।