बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता प्रेमबहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।
नगरपालिका र कर्मचारी प्रशासनबाट दिएको उजुरीका आधारमा अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको हो ।
थापालाई नगर कार्य पालिकाको निर्णय पुस्तिका च्यातेको र कर्मचारी प्रशासन तथा जनप्रतिनिधी माथि अभद्र व्यवहार गरेको उजुरीका आधारमा थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक देवेन्द्रराज जोशीले बताएका छन्।
उनका अनुसार प्रहरीमा वडा नम्वर ७ का अध्यक्ष प्रेमबहादुर थापा र ९ का अध्यक्ष वीरबहादुर विष्टको नाममा उजुरी दिइएको बताए । विष्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुई जनाको नाममा उजुरी छ, एक जना मात्र प्रक्राउ गरिएको र एक जनाको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक जोशीले बताए। माघ १० गतेको कार्यपालिका बैठकको निर्णय दिन थापा र विष्ट सहीत ६ जना वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यले प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाह सहितलाई धम्की दिएको स्रोतको दाबी छ।
नगर प्रमुख रामसिंह रावलले एकलौटी निर्णय गरेको आरोपमा ६ जना वडा अध्यक्षले ११ गते कार्यालयमा तालाबन्दी सहीत विज्ञप्ती जारी गरेका थिए । त्रिवेणी नगरपालिकाका नगर प्रमुख हाल नेपाली काँग्रेस बाजुराका सभापति पनि हुन् । प्रक्राउ परेका थापा र प्रहरीले खोजी जारी राखेका विष्ट पनि काँग्रेसबाटै जितेका वडा अध्यक्ष हुन्। नगर प्रमुख रावल पौडेलपक्षबाट पाटी सभापतिको चुनाव जितेका हुन् ।
भने विष्ट र थापा देउवा पक्षका हुन् । पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखिएको छ । त्रिवेणी नगरपालिकाका स्थानीय तह निर्वाचनको केही समय पछि देखि नै विवाद र तालाबन्दीको श्रृखला सुरु भएको हो । यस बारे नगरपालिकाले भने उजुरी दिएकोले आफूहरुले कुनै प्रतिक्रिया नदिने बताएको छ । नगरपालिकाले निष्पक्ष छानवीन र गल्ती गर्नेलाई कारवाहीको माग गरेको छ । सिंगो बहुमत कार्यपालिका रहेको र एउटैपार्टीका नगर प्रमुख उपप्रमुख सहीत रहेको पालिकामा प्रहरीमा उजुरी दिनेसम्मको विवाद पहिलो पटक देखिएको हो ।