काठमाडौँ। नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले आज राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो ।
आगामी ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहे पनि कोरोनाका कारण थप समय लाग्ने अनुमान गरिएको विभागले जनाएको छ । जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत भदौ ३० देखि असोज १८ गते सम्म गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो । यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । यसअघि विक्रम संवत २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।