सुदूरपश्चिम। सुदूरपश्चिमका पहाडी जिल्लाका अस्पतालहरुमा जडित भेन्टिलेटर दक्ष जनशक्तिको अभाबमा प्रयोग बिहीन बन्दा सञ्चालनमा आउन सकेका छैनन्। सुदूरपश्चिमका बैतडी,बझाङ लगायत पहाडी जिल्लामा गत वर्ष जडित भेन्टलेटर भेन्टिलेटरसहितको आईसीयू सञ्चालनमा आउन नसकेको हो।
जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटर हालसम्म सञ्चालनमा आएको छैन । दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई शैयाको आईसीयू कक्ष सञ्चालनमा आउन नसकेको हो ।
कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको अस्पतालका प्रमुख डा.जोशीले बताए । यता, बझाङ जिल्ला अस्पतालमा पनि भेन्टिलेटर सञ्चालन लागि दक्ष जनशक्ति अभाव रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहितको आइसीयू कक्ष राख्ने निर्णय अनुरुप उक्त आइसीयु वेड ल्याइएको हो ।गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्नकालागि दक्ष जनशक्ति अभाव रहेको छ । कोरोना महामारीको दोस्रो लहरताका जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको भए पनि दक्ष जनशक्तिको अभावमा उक्त वेड सञ्चालनमा ल्याउन नसकिएको हो ।
कोरोना महामारीको दोस्रो लहर फैलिएका बेला बझाङ जिल्लामा झण्डै १ हजार ६ सयभन्दा बढी संक्रमित भएका थिए भने २१ जनाले उपचारको अभावमा ज्यान गुमाएका थिए । श्वासप्रश्वासमा समस्या भएका जटिल संक्रमितलाई डडेल्धुरा तथा कैलाली रिफर गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोमा नै मृत्यु हुने गरेको थियो । जिल्लामा भेन्टिलेटरसहितको आइसीयू सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए । जिल्ला अस्पताल बझाङका डा.मिलन खड्काका अनुसार अहिले उक्त दुईवटा भेन्टिलेटरसहितको ८ वटा आईसीयु वेड जडान कार्य सम्पन्न भएको छ । पुस महिनाको पहिलो साता मात्रै उक्त जडान कार्य गरिएको डा। खड्काले बताए ।जनशक्ति अभावकै कारण लामो समयसम्म उक्त सेवा सञ्चालन गर्न नसकिएको बताउँदै खड्काले अहिले दुई जनालाई भेन्टिलेटरसहितको आईसीयू वेड सञ्चालनका लागि तालिम दिइएपछि सञ्चालन गर्न सक्ने बताए ।अहिले जिल्ला अस्पताल बझाङमा रहेको भेन्टिलेटरसहितको आईसीयू वेड सञ्चालनका लागि डा. मिलन खड्का र नर्स साधना खड्कालाई तालिम दिएको जिल्ला अस्पताल बझाङका प्रमुख अनवेश कोइरालाले बताए ।आगामी दिनमा जटिल तथा आईसीयुमा राख्नु पर्ने बिरामी भर्ना भएको खण्डमा पनि जिल्लामा नै उपचार गर्न सकिने डा. कोइरालाले बताए ।