कैलाली। कैलाली भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्यभन्दा कम राजस्व उठेको छ । आन्तरिक राजस्व भने लक्ष्यअनुसार सङ्कलन भएको छ।
कैलाली भन्सार कार्यालयको चालू आर्थिक वर्षको साउनदेखि पुससम्म कुनै महिनामा पनि राजस्व लक्ष्य प्राप्त भएको छैन।अरू महिनामा गत आर्थिक वर्षको हाराहारीमा राजस्व सङ्कलन भए पनि असोजमा भने निकै कम राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्षको असोजमा ८२ करोड पाँच लाख राजस्व सङ्कलन भएकामा यस वर्षको असोजमा ७७ करोड ४६ लाख मात्रै सङ्कलन भएको छ।
मूल्य अभिवृद्धि कर र अन्तःशुल्क लक्ष्यअनुसार नै उठे पनि यस नाकाबाट आयात निर्यात घट्दा भन्सार महसुल लक्ष्यअनुसार उठ्न नसकेको प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले जानकारी दिए।कैलाली भन्सारबाट छ महिनाको अवधिमा ४० अर्ब ४० करोड ८१ लाख ४७ हजार रुपियाँको वस्तु आयात र १० करोड ३० लाख ५४ हजार रुपियाँ बराबरको मालवस्तु निर्यात भएको छ ।