धनगढी। सुदूरपश्चिममा कोरोनाभाइरस (कोभिड–१९)विरुद्धको खोपको ‘बुस्टर डोज’ लगाउने अभियान सुरु हुने भएको छ । बुस्टर डोज प्रदेशका पालिकाहरुमार्फत लगाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अब एक/दुई दिनमा प्रदेशका ९ वटै जिल्लामा अभियानका रुपमा ‘बुस्टर डोज’ दिन सुरु गरिने प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए ।‘कोरोनाविरुद्धको खोपको बुस्टर डोज लगाउने अभियान सुरु गर्ने तयारी भइरहेको छ,’ प्रवक्ता कार्कीले भने, ‘अबको एक/ई दिन भित्रै खोप लगाउन सुरु हुन्छ । ९ वटै जिल्लामा खोप पठाउने कार्य भइरहेको छ ।’
जहाँ खोप उपलब्ध हुन्छ त्यहाँबाट मानिसहरुले खोप लगाउन सक्ने उनले बताए । ‘खोप हिजो मात्रै आयो, आज जिल्लाहरुमा पठाइँदैछ,’ उनले भने । यस प्रदेशका लागि १ लाख पाँच हजार डोज कोभिशिल्ड र ५१ हजार डोज भेरोसेल खोप आएको उनले जानकारी दिए ।उनका अनुसार बुस्टर डोज पालिकाहरुमार्फत जनताले पाउनेछन् । उनले भने, ‘हामीले खोप जिल्ला स्वास्थ्यमा पठाउँछौं र त्यहाँबाट पालिकाहरुले पाउनेछन् । खोप अभियान पनि पालिकाहरुले नै सञ्चालन गर्नेछन् ।’