कैलाली। नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेता डा.भीम रावल गृहप्रदेशमा कमजोर देखिएका छन्।
नेकपाको एकीकरण प्रक्रियामा माओवादीबाट एमालेमा समाहित भएका भट्ट र एमाले विभाजनमा दश बुँदे सहमतिसँगै माधव कुमार नेपालको साथ छोडेका रावल सुदूरपश्चिममा कमजोर देखिएका हुन्।सुदूरपश्चिमका ९ जिल्लामध्ये ८ जिल्लामा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट चयन भएको जिल्ला कमिटीमा पूर्वमाओवादी र दश बुँदे पक्षधरको उपस्थिती निकै कमजोर छ। हालसम्म चयन भएका ८ जिल्ला कमिटीमा एमालेको संस्थापन पक्ष नै हाबी देखिएको छ। यहाँका एक जिल्लाको नेतृत्व दस बुँदे पक्षधरले पाएका छन् भने ७ जिल्लामा संस्थापन पक्षकै नेतृत्व छ। पूर्वमाओवादीले भने एक जिल्लाको पनि नेतृत्व पाएको छैन।
जिल्ला अधिवेशनमा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्ण थापा र नेता भीम रावलबीच त्रिपक्षीय प्रतिस्पर्धा सतहमै देखियो। ८ जिल्लामध्ये चार जिल्लामा निर्वाचन र ४ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो। निर्वाचन भएका ठाउँमा अध्यक्ष केपी शर्मा ओलीको सर्कुलर विपरित प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नै भयो। सर्वसम्मत नेतृत्व चयन नगर्दा संस्थापन (ओली) पक्षमा नै विभाजन पनि देखा परेको छ।सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा भीम रावलले ओली समूहमा फाटो ल्याउन सफल भए। एमाले कैलालीका अध्यक्ष रतन थापा विरुद्ध रावलले उपाध्यक्षमा रणबहादुर चन्दलाई उठाए।
थापा र चन्द दुवै ओली समूहका थिए। तर, रावलले चन्दलाई आफूतिर तानेर थापा विरुद्ध उनको नेतृत्वमा प्यानल खडा गरेर चुनावी मैदानमा होमिए। यद्यपी कैलालीमा निर्वाचनमा थापा नै अध्यक्षमा विजयी भएका थिए। अध्यक्षका उम्मेदवार चन्दलाई रावल र कैलाली इन्चार्ज नारदमुनि रानाको समर्थन रहेको थियो भने थापालाई सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापाको साथ रहेको थियो।
कैलालीमा मिले पनि अन्य जिल्लामा भने ओली पक्षका थापा र पूर्वमाओवादीका भट्टको पनि प्रतिस्पर्धा चल्यो। आफूले इन्चार्ज पाउनुपर्ने माग गर्दै आएका थापाले भट्टसँग भित्रिभित्रै प्रतिस्पर्धा गरिरहेको नेताहरु बताउँछन्। ‘चुनावमा नेतृत्व पंक्ति आफैँ नै गुटबन्दीमा लागेको देखिन्छ। भीम रावल, लेखराज भट्ट र कर्ण थापाजीको प्रतिस्पर्धा सतहमै देखियो,’ एमालेका एक नेताले भने, ‘अब प्रदेश अधिवेशनमा यो गुटबन्दी झनै बढ्ने देखिन्छ। यसले पार्टीलाई सही दिशा दिँदैन।’
कैलाली, कञ्चनपुर, अछाम र दार्चुलामा निर्वाचन प्रक्रियाबाट तथा डडेल्धुरा, बैतडी, डोटी र बाजुरामा सर्वसम्मत रुपले नेतृत्व चयन भएको थियो। बझाङमा भने हिमपातका कारण अधिवेशन हुन सकेको छैन। कैलाली जिल्ला कमिटीको पदाधिकारीमा पूर्वमाओवादीका सबै उम्मेदवार पराजित भएका थिए। सचिवमा भीम रावलको समर्थन रहेका चन्द प्यानलका डेजी पाण्डे विजयी भएका थिए। उनले पूर्वमाओवादीका दानबहादुर विकलाई हराए। उपसचिवमा पनि उनकै प्यानलबाट उम्मेदवार बनेका ममताप्रसाद चौधरी र लोकेन्द्र शाही विजयी भए।
कञ्चनपुरमा पूर्वमाओवादी र दश बुँदे पक्षधरमध्ये कोही पनि पदाधिकारीमा अटाएनन्। पूर्वमाओवादीका बीरबहादुर थापा (पातल) अध्यक्षमा पराजित भए। ८ वटै जिल्लामध्ये कञ्चनपुरमा मात्रै पूर्वमाओवादी अध्यक्षका लागि चुनावमा उत्रिएको थियो। पूर्वमाओवादी पातललाई संस्थापन पक्षका सुरेन्द्र विष्टले अध्यक्षमा हराए। थापा र विष्ट प्यानलसहित चुनाव लडेका थिए। सचिवमा पनि दश बुँदे पक्षधर असोक चन्द ७ मतले पराजित भएका थिए।
एमालेका पूर्वउपाध्यक्ष समेत रहेका नेता भीम रावलको गृहजिल्ला अछाममा उनी पक्षधर उम्मेदवार पराजित भए। रावल निकट प्रकाशबहादुर शाहलाई पराजित गर्दै संस्थापन पक्षका चन्द्र बोहरा अध्यक्षमा विजयी भए। सचिवमा प्रतिस्पर्धा गरेका पूर्वमाओवादीका आदर्श साउद र उपसचिवमा लडेका शेरबहादुर बुढा पनि पराजित भएका थिए। दार्चुलाको अध्यक्षमा प्रतिस्पर्धा गरेका दस बुँदे पक्षधर ज्ञानेन्द्र घर्ती संस्थापन निकट प्रेमसिंह धामीसँग पराजित भए। उपाध्यक्षमा संस्थापन पक्षका चरन बुुढाथोकी, सचिवमा शेरसिंह धामी, उपसचिवमा खडक बडाल र पूर्वमाओवादीकी चन्द्रादेवी कुुँवर विजयी भए।
सर्वसम्मत नेतृत्व चयन गरिएको बैतडीमा अध्यक्ष बनेका सुरेन्द्र पाल संस्थापन निकट हुन्। उपाध्यक्षमा पूर्वमाओवादीबाट आएका रमील बम र सचिवमा चक्र कार्की सर्वसम्मत भए। सर्वसम्मत नेतृत्व चयन भएको डडेल्धुरामा दस बुँदे पक्षधर पदाधिकारीमा अटाएनन्। संस्थापन पक्षका प्रकाशबहादुर साउँद सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका थिए। उपाध्यक्षमा पूर्वमाओवादी धनबहादुर धामी (विवेक), सचिवमा संस्थापन पक्षका गजेन्द्र शाही, उपसचिवमा मीन बोगटी र अन्जु गैरे चयन भए। बाजुराको अध्यक्षमा संस्थापन पक्षकै कालीबहादुर शाही दोहोरिएका छन्। सर्वसम्मत नेतृत्व चयन गरिएकोे डोटीमा दस बुँदे पक्षधर चक्र मल्ल अध्यक्ष दोहरिए। उपाध्यक्षमा दस बुँदे पक्षधर मन्जु मलासी, सचिवमा संस्थापन पक्षका शेर बहादुर मल्ल सर्वसम्मत चयन भएका थिए।नेपाल खवरबाट