बैतडी। आफ्नो कार्यकर्ताको हत्यामा संलग्न रहेका सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले आज सुर्नयामा प्रदर्शन गरेका छन्।
सुर्नया ६ खर्काधार ३० बर्षीय डम्मर अवस्थीको गएको बुधबार शव फेला परेपछि नेपाल कम्युनिष्ट पार्टीले हत्यामा संलग्न सबैलाई खोजी गरी कानुनी कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने र शहीद घोषणा गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएको छ।
आज सुर्नया गाउँपालिकाको केन्द्रमै पुगेर प्रदर्शन गरेको नेपाल कम्युनिष्ट पार्टीका सुर्नया सचिव अम्बादत्त अवस्थीले बताए। मृतक डम्मर अवस्थी विप्लव नेतृत्वको नेकपाका सदस्य समेत रहेका थिए। उनको हत्यामा संलग्न एकजना हरिश अवस्थी पक्राउ परिसकेका छन् भने अर्का एकजनालाई सोधपुछकालागि प्रहरीले नियन्त्रणमा लिएको छ।