बैतडी। बैतडीमा जगंलमा गाडेको अवस्था भेटिएका डम्मर अवस्थीको शव आफन्तले बुझेका छैनन् । बीभत्स तरिकाले हत्या गरेर पुरेको अवस्थामा बुधबार राति शव फेला परेको सूर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीका आफन्तले शव अझै बुझेका छैनन् ।
हत्यामा संलग्न अन्यको पनि खोजी गरी कारबाही हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने माग परिवारजनले राखेका छन् । डम्मरको शव पोस्टमार्टमपछि जिल्ला अस्पातलमै छ । हत्याका संलग्न आरोपमा मृतकका छिमेकी हरिश अवस्थीलाई पक्राउ गरेको छ । मृतकका आफन्तहरूले घटनामा अन्य पनि संलग्न रहेको आशंका गर्दै सबै पक्राउ नपरेसम्म शव नउठाउने चेतावनी दिएका छन् ।
डम्मर नेत्रविक्रम चन्द समूहका सदस्यसमेत हुन्। मंसिर १४ गते साँझ घरबाटै हराएका सूर्नया गाउँपालिका–६ खर्काधारका डम्मरको शव घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा बुधबार भेटिएको थियो । हत्या घटनापछि स्थानीय त्रसित छन् । बीभत्स तरिकाले भाइको हत्या भएपछि आफूहरूले असुरक्षित महसुस गरिरहेको मृतकका दाजु तीर्थराज अवस्थीले बताए । ‘भाइलाई त गुमाए । परिवारसँगै आफ्नो ज्यान खतरामा रहेको महसुस गरिरहेको छु,’ उनले भने ।भाइको हत्यामा अरू पनि मिलेको हुन सक्ने भन्दै सबैको खोजी गरी सजाय दिनुपर्ने उनले बताए । नाताले भतिजा पर्ने हरिश सिद्धनाथ आधारभूत विद्यालयका शिक्षकसमेत रहेका हरिशले डम्मरको हत्या गरेको खुलेको छ । उनीहरूको घर १५ मिनेटको फरकमा छ । हरिशले पुस २२ गते आफूलाई विप्लव समूहका कार्यकर्ताले अपहरण गरेर बाँके जिल्लाको एक गाउमा पुर्याएको भन्दै फेसबुकमा स्टाटस राखेका थिए । लगत्तै प्रहरीले खोज्दा उनी भिजेको अवस्थामा फेला परेका थिए । उनले फेसबुकमा मृतक डम्मरका दाजु तीर्थराज र अर्का एक स्थानीय कार्यकर्ताले आफूलाई अपहरण गर्न लगाएको आरोप लगाएका थिए ।
प्रहरीमा सोधपुछका क्रममा ‘अपहरण’ झूटो भएको र आफूले डम्मरको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । मंसिर १४ गते राति नै डम्मरको हत्या गरी शव गाडेको ठाउँ खुलाएपछि प्रहरी गएर उत्खनन गरेको हो । मृतकका आफन्तले पुस १ गते डम्मरको हुलियासहित खोजीका लागि निवेदन दिएका थिए । ‘२/४ दिन कल डिटेल माग गर्न समय लाग्यो । हरिशसँगै मृतकको अन्तिम कल भेटिएपछि अनुसन्धान उसैतिर सोझियो,’ प्रहरी निरीक्षक ओझाले भने, ‘निगरानीमै रहेको बेला अपहरणको नाटक पनि गर्यो । फेरि बोलाएर सोधपुछ गर्दा शव गाडेको कुरा खुल्यो ।’सम्बन्धीत समाचार-तल हेर्नुहोस…
बैतडीमा एक पुरुषको शव फेला
बैतडीबाट अपहरणमा परेका भनिएका शिक्षकको बाँकेको राप्ती नदी किनारबाट उद्धार गरिएको छ। बैतडीको सुर्नया गाउँपालिकाका २३ वर्षीय अस्थायी शिक्षक हरिश अवस्थीलाई शुक्रबार बेलुका ८ बजे बाँकेस्थित राप्ती नदी किनारबाट उद्धार गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए।
‘उहाँलाई हामीले राप्ती नदी किनारबाट उद्धार गरेका हौं,’ एसपी अधिकारीले भने, ‘उहाँको कपडा, मोबाइल, पैसा सबै भिजेको अवस्थामा थियो।’ उद्धारपछि प्रहरीले अवस्थीलाई भेरी अस्पताल पुर्याएको थियो। एसपी अधिकारीले त्यहाँको उपचारपछि न्यानो कपडा किनिदिएर अवस्थीलाई प्रहरीले सुरिक्षत राखेको जानकारी दिए।‘उहाँ अहिले हाम्रै साथमा हुनुहुन्छ र अवस्था सामान्ने छ,’ एसपी अधिकारीले भने, ‘घटनाबारे थप अनुसन्धान हुन बाँकी नै छ।’ अवस्थीले बैतडीबाट आफूलाई केही युवाहरूले २२ गते बिहान ८ बजे जबरजस्ती गाडीमा ल्याएको प्रहरीसँग बताएका छन्।
‘आधा घन्टा मात्रै तेरो सयम छ अन्तिम इच्छा भए भन्नू भनेर उनीहरूले राप्तीमा धकेली दिए। म पौडी खेल्न जानेको हुँदा पौडीएर ज्यान जोगाउन सफल भएँ,’ अवस्थीको भनाइ उद्धत गर्दै एसपी अधिकारीले भने। त्यही बीचमा अवस्थीले आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा आफूलाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले अपहरण गरेको लेखेका छन्। जहाँ उनले आफ्नो जीवन रक्षाको लागि याचना समेत गरेका छन्। अवस्थीले फेसबुकमा लेखेपछि उनका आफन्तले प्रहरी प्रशासन गुहारेका थिए। गृह मन्त्रालयसम्म कुरा पुगेपछि प्रहरी उनको खोजीमा लागेको थियो। ‘अपहरणमा परेका भनिएका पीडितलाई हामीले राति धेरै कुरा सोधिसकेका छैनौं,’ एसपी अधिकारीले भने, ‘आज उहाँको अवस्था सामान्य देखिए थप अनुसन्धान हुने छ।’ अवस्थीले आफूलाई अपहरण गर्नेहरू करिब ६ जनाको संख्यामा रहेको बताएका छन्। ‘उहाँले दुई जनाको नामै भन्नुभएको छ,’ एसपी अधिकारीले भने, ‘हामी उनीहरूको खोजीमा छौं र सँगै राखेर कुरा गरेपछि तथ्य खुल्ने छ।’