सुदूरपश्चिम । नेपालीमा मनाइने फरक–फरक चाडपर्वका आ–आफ्नै विशेषता छन्। भौगोलिक विविधताका कारण भूगोल अनुसार चाडवाड मनाउने तौरतरिका पनि भिन्न छन्। सबैजसो चाडपर्वमा धार्मिक मान्यता जोडिएको हुन्छ।
विज्ञान प्रविधि र पश्चिमा शैलीको प्रभावका कारण शहर बजार क्षेत्रमा चाडपर्वको मौलिक महत्व घट्दै गइरहेको छ। मनाउने तरिकामा पनि व्यापक परिवर्तन भइसकेको छ। २१ औं शताब्दिसम्म आइपुग्दा चाडपर्वहरु मौलिकतासँग कम आधुनिकतासँग बढी जोडिएका छन् । शहरबजारले चाडपर्वको मौलिकता खोसेपनि गाउँघर र विकट क्षेत्रमा भने मौलिकताको अवशेषहरु बाँकी नै छन्। ग्रामिण क्षेत्रमा पनि शहरको प्रभाव भने बढ्दै गएको छ। शहर बजारको प्रभाव परिनसकेका भौगोलिक हिसाबबाट दुर्गम वस्तीहरुले नै चाडपर्वको मौलिकता धानिरहेका छन्।
वर्षको करिब अन्त्य अन्त्यमा पर्ने चाड हो माघे संक्रान्ति। माघे संक्रान्ति पर्वलाई अझैपनि धुमधामसँग मनाउने प्रचलन गइसकेको छैन। मगर, थारु, किँरात समूदायको मुख्य पर्व मानिने मकर संक्रान्तिको पनि क्षेत्र र समूदाय अनुसार फरकफरक ढंगले मनाइन्छ। सुदूरपश्चिम क्षेत्रमा माघे संक्रान्तिको महत्व छुट्टै छ। केही हदसम्म भिन्न तरिकाले मनाइन्छ पनि । माघे संक्रान्तिको विशेष खान्की कन्दमुल नै हो। त्यसबाहेक चाकु, सेलरोटीे अनिवार्य खाने प्रचलन छ। सुदूरपश्चिममा पनि माघीको खान्की यीनै हुन्। सुदूरपश्चिममा माघ महिनाभर साकाहारी खानेकुरा मात्रै खाने परम्परा छ। अधिकांश युवाहरुले यो परम्परालाई पालना नगरेपनि पुराना पुस्ताले भने अझै पनि सहर्ष पालना गदै आइरहेका छन्।
पुसको पाक्य माघमा खाक्य
बिवाह गरेर गएका छोरीचेलीलाई संक्रान्तिको अघिल्लो दिन नै बोलाइन्छ। सोही राती सेलरोटी, निसासे रोटी, तरुल, चाकु लगायतका परिकारहरु बनाइन्छ। माइती आएका छोरीचेलीलाई रातभरी अगेना वरपर राखेर आगो ताप्दै दुःख सुखका कुरा गर्ने, कथा, उखान टुक्का सुन्ने र सुनाउने प्रचलन सुदूरपश्चिममा अझै छ। बिहान भएपछि नुहाइधुवाई गरि चोखो हुने र माइती आएका र घरमा भएका छोरीचेलीलाई राती पकाइएका खानेकुरा खानदिने र टिका लगाएर दक्षिणा दिने गरिन्छ। त्यसकारण यसलाई पुसको पाक्य माघमा खाक्य भन्ने गरिन्छ। माइती आएका छोरीचेलीलाई घरसम्म पुर्याउने प्रचलन अझै पनि छ। छोरीचेलीलाई घर पठाउँदा साथमा सेलरोटी, चाकु, लगायतका परिकारहरु सगुनस्वरुप पठाइन्छ । बुहारीले माइतबाट फर्कँदा फलफुल, सेलरोटी लगायतका सगुन ल्याउनैपर्ने परम्परा छ। मकर संक्रान्तिका नामले पनि चिनिने यस दिन सुदूरपश्चिममा आफ्ना छोरी–चेली, दिदी–बहिनीलाई सेलरोटी तथा पकाइएका अन्य खानेकुरा उपहार दिइन्छ। संक्रान्तिका दिन नभए माघको कुनै एक दिन यस्तो उपहार दिइन्छ। यो सुदूरपश्चिमाञ्चल संस्कृतिको विशेषता हो।
माघलाई पुण्य महिनाका रूपमा लिइन्छ। बिहे भएका छोरी, दिदी–बहिनी देवीका अवतार भएकाले उनीहरूलाई माघमा सेलरोटी तथा मीठा परिकार बनाएर दिएमा पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ।छोरी, दिदी–बहिनी र फुपूलाई ‘त्यारमाणो’ सेलरोटी, फाउने माडा, भुनेरोटीसँग मीठा परिकार दिएमा पुण्य कमाइन्छ भन्ने विश्वासका आधारमा आफूले पनि यसपालिको माघमा सेलरोटी बनाएर पुर्याउने तरखर गरिरहेको धनगढी डोमलियाका लालबहादुर कलेलले बताए। उनले भने, ‘बिहे भएका छोरी, दिदी–बहिनी र फुपूलाई उपहारस्वरूप माघ महिनामा त्यारमाणो दिने गरिन्छ।’माघ महिनामा सुदूरपश्चिमका पहाडी जिल्ला र तराईका कैलाली र कञ्चनपुरमा बस्ने पहाडीमूलका बासिन्दालाई बिहे भएका छोरी, दिदी–बहिनी, फुपूलाई सेलरोटी र अन्य परिकार बनाएर उपहारस्वरूप पठाउन भ्याइनभ्याइ हुन्छ। सुदूरपश्चिमेलीहरूले आफ्ना विवाहित दिदी–बहिनी तथा छोरीलाई माघमा मीठा परिकार बनाएर दिने गरेको र यो प्रचलनलाई त्यारमाणो भनिने डोटेली भाषाविद् डा. टिएन जोशी बताउँछन्।
विवाह गरी पठाइएकी चेली र माइतीको सम्बन्ध प्रगाढ बनाइराख्न पनि त्यारमाणो दिने प्रचलन पहिलेदेखि चलिआएको उनले बताए। उनले भने, ‘डोटी, डडेलधुरा, बझाङ, अछाम र बाजुरामा माघ महिनालाई चेली तिहार पनि भनिने गरिन्छ।’ माइती पक्षले छोरी, दिदी–बहिनीलाई मकर संक्रान्ति वा माघको कुनै दिन डोकाभरि त्यारमाणो दिन्छन्। नजिक घर भएका दिदी–बहिनी र छोरीलाई भने माइती घरमै बोलाएर खुवाउने र गक्षेअनुसार दक्षिणा दिने गरिन्छ। टाढा घर भएका छोरी, दिदी–बहिनीलाई उनीहरूकै घरमै गएर त्यारमाणो दिइन्छ। माघे संक्रान्तिदेखि मसान्तसम्म सूर्य मकर राशिमा रहने भएकाले यो महिनालाई माघे तिहारका रूपमा मनाउने गरिएको ज्योतिषी मनिराज जोशी बताउँछन्। उनले भने, ‘मकर राशिमा गरेको कार्य बढी फलदायी हुन्छ।’ माघमा ब्राह्मणलाई खाना खुवाए पुण्य पाइने धार्मिक मान्यता पनि छ। उनका अनुसार दिदी–बहिनी र छोरीलाई ब्राह्मणको प्रतीक मानिएकाले सेलरोटी तथा विभिन्न खानका परिकार उपहार दिने गरिएको हो। धार्मिक मान्यताअनुसार माछा, मासु खानु हुँदैन। माघमा स्वस्थानी व्रत हुने भएकाले पशुपन्छीको हिंसा गर्नु हुँदैन भन्ने धार्मिक मान्यता पनि छ। किम्बदन्तीअनुसार कुनै बेला एक विवाहित चेलीले आफ्ना बुबालाई आरु फुल्ने र पाक्ने बेला (आरु फुल्ने समय माघ हो भने पाक्ने समय साउन) मा खानेकुरा अभाव भएकाले घरमा नआउन अनुरोध गरेकी थिइन्।
त्यही बेलादेखि चेलीका घरमा खानेकुराको अभाव टार्न सेलरोटी दिने प्रचलन सुरु भएको भन्ने मान्यता रहेको टेकराज अवस्थी बताउँछन्। उनले भने, ‘पहिले–पहिले केरा तथा मालुको पातमा सेलरोटी राखेर दिने गरिन्थ्यो, पछि डोकोभरि सेलरोटी र अन्य परिकार दिन थालिएको हो।’ यसरी डोकोभरि सेलरोटी लगेर आमा, भाउजू, दाजु वा भाइ छोरी, दिदीबहिनीको घरमा जान्छन्। यो समयमा न्याउली चरी बास्ने भएकाले बिहे भएका छोरी, दिदी–बहिनीलाई माइतीको सम्झनाले सताउँछ। माइतीको सम्झना बिर्साउन पनि माघमा त्यारमाणो दिने गरिएको डेउडा गायक सुरत रावत (डोटेली कान्छा)बताउँछन्। उनले भने, ‘छोरी, दिदी–बहिनीलाई माइतीको सम्झनाले नसताओस् भनेर त्यारमाणो उपहार पठाउने गरिन्छ।’ छोरी–चेलीलाई भगवान्को रूप मान्ने गरिएकाले उनीहरूलाई मान दिनु पनि यसको अर्थ रहेको उनी बताउँछन्।
त्यारमाणो माइतीले छोरी–चेलीलाई दिएको सम्मान भएको बताउँदै रावतले भने, ‘माइती र चेलीको सम्बन्ध त्यारमाणोले झन् प्रगाढ बनाउँछ। कामधन्दामै माइती बिर्सिएकी चेलीलाई त्यारमाणोले सम्झना दिलाउने र माइती पक्षसँग भेटघाट गराउने अवसर जुटाएको उनले बताए। परम्परादेखि चलिआएको संस्कृतिअनुसार माघलाई धार्मिक महिनाका रूपमा लिइन्छ। यस महिनामा चेलीलाई गक्षेअनुसार दान गर्दा पुण्य कमाइने विश्वास रहेको उनी बताउँछन्। सुदूरपश्चिममा माघ महिनामा चेलीलाई त्यारमाणो दिने र ब्राह्मणलाई खिचडी खुवाउने प्रचलन छ। खिचडीले शरीरलाई तागत र तातो दिने भएकाले ब्राह्मणलाई खुवाए पुण्य पाइने जनविश्वास छ। माघमा जाडो बिस्तारै हट्ने र कामकाजको समय नभएकाले चेलीलाई कोसेली दिने उपयुक्त समय भएको उनले बताए। पण्डित हरिनारायण भट्ट पनि माघमा छोरी, दिदी–बहिनीलाई त्यारमाणो दिए धर्म लाग्ने र पाप नष्ट हुने जनविश्वास रहेको बताउँछन्। दसैं, तिहारपछि मकर संक्रान्ति चेलीलाई माइतीसँग भेटघाट गर्ने अवसर भएको उनी बताउँछन्। माघमा चेली, दिदी–बहिनीलाई दान दिएमा हजारौं गुणा फल मिल्ने जनविश्वास रहेकाले पनि त्यारमाणो दिने चलन रहेको उनले बताए। उनले भने, ‘यो क्षेत्रमा माघ महिनामा माइती पक्षले छोरी, दिदी–बहिनीको घरमा गएर पानीसमेत नखाने चलन छ। आफूले दिने तर छोरी, दिदी–बहिनीको घरको केही नखाने चलन छ,’ उनले भने। डोटी, डडेलधुरा, बझाङ, अछाम र बाजुरामा माघमा त्यारमाणो दिने चलन रहे पनि दार्चुला र बैतडीमा भने चैत महिनामा भिटौलोरचैतेलो भन्दै सेलरोटी दिने चलन रहेको सुदूरपश्चिमको संस्कृतिमा विद्यावारिधि गरेका बद्री बिनाडी बताउँछन्। उनले भने, ‘सुदूरपश्चिममा चेलीलाई देउताका रूपमा मान्ने र दान दिए पुण्य कमाइने विश्वास रही आएको छ।’
थारु समूदायको विशेष उत्सव
माघे संक्रान्ति थारु समूदायको उत्सव नै हो। माघको सुरुवातसँगै उनीहरुको नयाँ वर्ष सुरु हुने भएका कारण यसलाई थारु समूदायले नयाँ वर्षका रुपमा मनाउँछन् । सुदूरपश्चिममा थारु समूदायहरु माघे संक्रान्तिका दिन बिहानै नदि तथा खोलामा स्नान गर्न जान्छन् । स्नान गरिसकेपछि पाँच –पाँच मुठ्ठि चामल र दक्षिणाकोे ‘निस्रा’ छुट्याईन्छ र छोरी, बहिनीहरुमा बाढिन्छ। संक्रान्तिका दिन चामल र चामलको पिठो बाट बनेको सेतो अक्षताले कुल देवताको पूजा गर्ने प्रचलन छ। हरेक नया बर्षमा थारु समुदायमा गाउको ‘भल्मान्सा’ छनोट गरिन्छ । भल्मान्सा गाउमा जाने बुझेको व्यातिm हुनुपर्छ । गाउँमा हुने हरेक सामाजिक कार्यमा सहभागी हुने र समूदायको हितका लागि सहि निर्णय लिनु भल्मासाको जिम्मेवारी हो। यस पर्वमा थारुहरुको विशेष परिकार ढिक्री, सुंगुरको मासु र जाँड हो। ढिक्री चामलको पिठोबाट बनाइने एक विशेष परिकार हो। त्यस्तै थारु समूदायको विशेष संस्कृती सकिया नाच हो। नयाँ वर्षको अवसरमा थारु समूदायका प्रत्येक व्यक्तिको घरघर गई सकिया नाच नाचिन्छ।
गोदावरीधाममा एकपटक स्नान गर्नैपर्ने मान्यतामाघे संक्रान्तिका दिन कैलालीको गोदावरीधाममा खुट्टा राख्ने ठाउँसम्म हुँदैन। माघे संक्रान्तिको दिन बिहानै कैलाली र कञ्चनपुरका मानिसहरु गोदावरीधाममा आएर स्नान र पुजापाठ गर्दछन्। माघ महिनाभरि कम्तिमा एकपटक भएपनि गोदावरीधाममा आएर स्नान गर्नैपर्ने मान्यता छ। त्यसैले महिनाको पहिलो दिनमै मानिसहरु स्नान गर्न आउने हुँदा गोदावरीधाममा यस दिन व्यापक भीडभाड हुने गर्दछ। विगत दुई वर्षयताभने कोरोना महामारीका कारण तुलनात्मक रुपमा मानिसहरुको भीड कम देखिएको छ। गोदावरीधाम सूदूरपश्चिम प्रदेशकै प्रमुख तीर्थस्थलका रुपमा परिचित छ। माघेसंक्रान्तिका दिन बुढापाका देखी युवा तन्नेरी तथा बालवालिका गोदावरीधाममा स्नान गर्न पुग्दछन्।नागरिक दैनिकबाट