धनगढी। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे)सङ्क्रान्ति भनिन्छ ।
माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन बिभिन्न नदी तथा कैलालीको गोदावरी नदीमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ।
यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमासमेत प्रयोग गरिन्छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले ईच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए ।
माघ महीनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्य अन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष माघ ३ गतेदेखि श्री स्वस्थानी व्रतकथा शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमास अनुसार माघ महीनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् ।
थारु समुदायमा माघीको रौनक
कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्वको रौनक छ। विशेषगरी पुस अन्तिम दिनबाट सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने यो पर्वमा माघ १ गतेलाई नयाँ वर्षको रुपमा स्वागत गर्दै हर्सोल्लास मनाइने गरिन्छ । वर्षभरि गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रुपमा भलमन्सा, अघरिया, चौकीदार लगायतका पदहरुमा चयन गर्ने विषयमा पनि थारू बस्तीहरुमा छलफल चल्ने गर्दछ।
माघी मनाउने तयारीस्वरुप प्रत्येक घरपरिवारमा सुँगुर र बङ्गुरको मासुको व्यवस्थापन गर्नुका साथै गाउँका लागि आवश्यक कार्ययोजनाबारे एक ठाउँमा भेला भएर छलफल गरिन्छ । रोजगारीका लागि बाहिरिएका घरका सदस्य पर्व मनाउनका लागि घर पुगिसकेका छन्। माघी मनाउन हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गरिँदै आएको थियो। विगत दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण माघी पर्वको अवसरमा खासै मेला, महोत्सवको आयोजना गरिएको छैन। माघीको दिन शनिबार परेकोमा २ गते सुदूरपश्चिम सरकारले सार्वजनिक बिदा दिएको छ।