काठमाडौँ। सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेर पठाएको लागत मूल्यका आधारमा प्रस्तावित मूल्यसहितको प्रस्तावलाई उद्योग मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा लगेको थियो। उक्त प्रस्ताव मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो।
उखु किसानले भने प्रतिक्विन्टल ६ सय ८० रुपैयाँसम्मको माग गरेका थिए। कम्तिमा पनि प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ हुनुपर्ने उनीहरुको अडान थियो । तर सरकारले भने ५ सय ९० रुपैयाँ निर्धारण गरेको हो । चिनी उद्योगीले भने प्रतिक्विन्टल ५ सय ८० रुपैयाँसम्म दिन सक्ने बताउँदै आएका थिए।
बिहीबारको सार्वजनिक लेखा समितिले सरकारलाई उखुको भुक्तानी चाँडो दिलाउन र समर्थन मूल्य चाँडो तोक्न समेत निर्देशन दिएको थियो ।चिनिमिलहरुले किसानलाई अझै करिब पौने ९ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ। उखुको न्यूनतम लागत ३ सय ८२ रुपैयाँ, ढुवानी खर्च ६२ रुपैयाँ तथा मुनाफा ७६ रुपैयाँ हिसाब गरिएको छ। सरकारले गएको वर्ष उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो । सरकारले तोकेको समर्थन मूल्यमा किसानले असन्तुष्टि जनाएका छन्। उखु उत्पादक सङ्घका अध्यक्ष कपिलमुनी मैनालीले सरकार र उद्योगीको मिलेमतोमा मूल्य निर्धारण भएको भन्दै किसान मारमा परेको बताए।