काठमाडौं। गृह मन्त्रालयले बुधबार सुदूरपश्चिमका तीन सहित नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ। गृहमन्त्रालयका अनुसार बझाङ, बाजुरा, दार्चुला, बागलुङ, झापा, सुर्खेत, ओखलढुङ्गा, इलाम, रुकुम (पश्चिम) जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो।
जसअनुसार बझाङको प्रमुख जिल्ला अधिकारीमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई सरुवा गरिएको छ भने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलको बाजुरा जिल्ला प्रशासन कार्यालयमा गरिएको छ । यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने दार्चुलाका सिद्ध राज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ ।
यसैगरीबागलुङको सिडिओमा मन्त्रालयका सहसचिव रमेश ढकाललाई पठाइएको छ । बागलुङ जिल्लामा अहिले सिडिओको रुपमा शिव कुमार कार्की हुनुहुन्छ। जिल्ला प्रशासन कार्यालय झापामा सहसचिव छवि रिजाललाई खटाएको छ भने सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र रिजाललाई सरुवा गरिएको छ। ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयका उपसचिव दिल कुमार तामाङ रुकुम पश्चिममा मन्त्रालयकै उपसचिव परमानन्द घिमिरे र इलामको प्रजिअमा माधव ढुङ्गानालाई सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।