बझाङ। बझाङको विकट वस्तीका नागरिकलाई नागरिकता बनाउन सास्ती बेहोर्नु परेको छ। जिल्ला प्रशासन कार्यालय बझाङमा नागरिकताका लागि टाढा टाढाबाट लामो दुरी पारगरेर आउनेहरुले दिनभर लाइन बस्दा सास्ती बेहर्नू परेको हो।
कतिपय स्थानियहरु तीन दिनको पैदल बाटोको यात्रापछि मात्रै बझाङ सदरमुकाम चैनपुर पुग्नु पर्ने बाध्यता रहेको छ। जिल्ला प्रशासन कार्यालय बझाङ पुगेकी बुङ्गल नगरपालिका-२ कि विमला धामीले दिनभर लाइन बस्दा पनि नागरिकता बनाउन पाइनन्। ९० किलोमिटरको दूरी पारे गरेर नागरिकता लिन एकवर्षे दूधे बालक बोकेर घरबाट दुई दिन हिँडेर आएकी उनी सेवाग्राहीको भीडभाडले नागरिकता बनाउन दुई दिन प्रशासन धाउनु परेको उनले भनिन् ।
उनले पहिलो दिन बिहान ११ बजेदेखी जिल्ला प्रशासन कार्यालयमा लाईन बसेपनी त्यो दिन काम नभएको बताईन्। हिजो पनि दिनभर नागरिकता बनाउनका लागि लाइनमा ५ बजेसम्म बस्दा नागरीकता नपाएको उनले दुखेसो गरिन्। घरबाट हिँडेको तेस्रो दिनपछि मात्र नागरिकता पाइन्। जिल्ला प्रशासन कार्यालय बझाङमा नागरिकताका लागि लाइनमा बस्नु पर्ने अधिकांश नागरिकले यस्तै समस्या भोग्नुपरेको बताएका छन्। अनलाइनबाट सेवा दिने प्रबन्ध मिलाइएको भएपनि थेग्नै नसकिने भीडभाडले काम गर्न समस्या भैरहेको छ । समयमा नै काम नहुँदा दुई तिन दिनसम्म जिल्ला प्रसासन कार्यालय धाउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाई छ।
भौगोलिक रूपमा ठूलो र विकट वस्ती रहेको बझाङका स्थानीयलाई गाउँबाट चैनपुर आउन एक हजार रुपैयाँ त गाडी भाडा, होटलमा बस्दा ठूलो खर्च हुने गरेको छ।बझाङको वित्थडचिर गाँउपालिका, बुङ्गल नगरपालिका, केदारस्यु र थलारा गाँउपालिकाको केही भू–भागका नागरिकले सदरमुकाम पुग्न ठूलो खर्च गर्नुपर्ने अवस्था रहेको छ। गाउँबाट सदरमुकाम चैनपुर पुग्दा मात्रै १० हजार रुपैयाँ खर्च हुने गरेको साइपाल गाँउपालिका(३ का प्रदीप बोहराले बताए। भौगोलिक रूपमा ठूलो र विकट जिल्ला भएका कारण जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गरी सेवा दिनुपर्ने नागरिकको माग छ। जनताको सेवाका लागि भए पनि सरकारी तर स्थानीय तहले पहल थाल्नु पर्ने उनको भनाइ छ । प्रशासनले शिविरको आयोजना गरी पालिकाको केन्द्रमा नै आएर नागरिकता दिनुपर्ने, कि हामीलाई पायक पर्ने स्थानमा अर्को कार्यालय बनाउनुपर्ने नागरिकको माग छ।
जिल्ला प्रशासन कार्यालयमा सधैँजसो भीडभाड हुने गरेको भएपनि अहिले फोटोसहितको मतदाता नामावली र राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या धेरै भएका कारण काममा केही समय लाग्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रमाकान्त जोशीले नागरिकहरूको कामलाई छिटो छरितो गर्ने गरी लागेका हुन्छौँ तर पनि भीडभाड धेरै हुने गरेको उनले भने।, ‘दरबन्दी अनुसारको जनशक्ति अभाव भएकाले कार्य क्षेत्र पनि धेरै भएकाले यस्तो समस्या देखिएको बताए। प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बझाङमा इलाका प्रशासन कार्यालय थप गर्नुपर्ने भनेर पटक पटक पहल गरेको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको बताए । जिल्ला प्रशासन कार्यालयबाट इलाका प्रशासन स्थापनाका लागि पहल भइरहेको उनले बताएका छन्।