डोटी। जिल्ला प्रहरी कार्यालय डोटीले यहाँका विभिन्न ठाउँमा लुकिछिपी उत्पादन गरेका १७० लिटर छ्याङ नष्ट गरेको छ।
प्रहरीले बाजुरा बुढीनन्द नगरपालिका–९ पाण्डुसैन घर भइ डोटी दिपायल सिलगढी नगरपालिका–७ को सडक खण्डमा अस्थायी टहरा बनाइ बस्ने मानबहादुर थापाले उत्पादन गरेको ६० लिटर, लक्ष्मी गुरुङले ४५ लिटर, अनिता बोगटीले ३० लिटर र दिपायल सिलगढी–६ बस्ने लक्ष्मी भण्डारीले उत्पादन गरेको ३५ लिटर गरी जम्मा १७० लिटर छ्याङ नष्ट गरेको हो।
घरेलु मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कारलगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्ति सुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भई समुदायमै नकारात्मक असर पार्ने भएकाले प्रहरीले यो अभियान चलाएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो। समुदायमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्न प्रहरीले जाँड-रक्सी नष्ट गर्दै आएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो । पछिल्लो केही हप्तायतादेखि जिल्ला प्रहरी कार्यालय डोटीको निर्देशनमा जाँड-रक्सी नष्ट गर्ने अभियान सञ्चालन भइरहेको छ।