धनगढी। राष्ट्रियसभा सदस्य निर्वाचनकालागि आज उम्मेदवारी दर्ता हुँदैछ । माघ १२ गते सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन हुँदैछ । विभिन्न कोटाका १९ पदमा हुने निर्वाचनको लागि निर्वाचन आयोगले आज मनोनयन दर्ताको समय तोकेको छ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाका तीन सदस्य चयन गर्न माघ १२ गते हुने निर्वाचनका लागि दलहरुले उम्मेदवार टुंगो लगाउन थालेका छन्। सुदूरपश्चिम प्रदेशमा आज बिहान १० देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन कार्यालय कैलालीका सहायक निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिएका छन्। निर्वाचन कार्यालयमै मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको उनको भनाई छ।
राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदैछन् । २० जनामध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । १९ जनाका लागि निर्वाचन हुनेछ । महिला, दलित र अन्य तर्फ आज मनोनयन दर्ता हुनेछन् ।
सत्ता गठबन्धन र एमालेबाट उम्मेदवार
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीनै पदमा उम्मेदवारी दिने तयारी गरेको छ । भने गठबन्धनको तर्फबाट तीन दलले तीन पद पाएको छ । एमालेले महिला तर्फ कैलाली कि सन्तोष कुमारी शर्मा थापा,दलित तर्फ बैतडीका नरेश विक र खुल्ला तर्फ डोटीका डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको छ।
गठबन्धनका तर्फबाट भने सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका एक/एक जना उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनीहरू सबैले आज तीन बजे सम्म मनोनयन दर्ता गराउने छन् ।