धनगढी। सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा आज आइतबार सार्वजनिक बिदा दिइएको छ। भुवा पर्वको अवसरमा अछाम, बाजुरा र बझाङमा बिदा दिइएको हो ।
२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेश सरकारले पुस १८ गते आइतबार भुवा पर्वको अवसरमा अछाम, बाजुरा र बझाङमा बिदा दिइएको हो । प्रदेशका यी तीन जिल्लामा दमाहा बाजाको तालमा सेतो जामा पगरीसहित एक हातमा ढाल र अर्को हातमा तरबार समातेर भुवा नाच्ने गरिन्छ ।
भुवा पर्व हरेक वर्ष पुस औँसीबाट शुरू हुन्छ। द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजय हासिल गरेपछि निकालिएको जुलुसमा तरबार र ढाल नचाउँदै खुसीयाली मनाइएको र त्यसैको सम्झनामा भुवा नाच्ने चलन रहेको बताइन्छ ।