धनगढी। सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनको लागि एमालेले पार्टीका तर्फबाट ९ जनाको नाम सिफारिस गरेको छ। खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए।
उनका अनुसार खुल्लाबाट तीनजना, महिलाबाट तीनजना र दलितबाट पनि तीन जनाको नाम सिफारिस गरिएको छ। खुल्लाबाट अछामका कृष्ण प्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस भएको छ। त्यस्तै दलित तर्फबाट बैतडीका नरेश कुमार विश्वकर्मा, दार्चुलामा लालीराम लुहार र बाजुराका काशीबहादुर विक रहेका छन्। महिला तर्फबाट बझाङकी भारगथी कुमारी चन्द, कैलालीकी सन्तोष कुमारी शर्मा थापा र डोटीकी ठगु महरा रहेका छन्।
सुदूरपश्चिममा तीन दलका तीन जनाको चार वर्षीय कार्यकाल पूरा भएको छ। कार्यकाल पूरा हुनेमा डडेल्धुराबाट एमालेका चक्र स्नेही, कञ्चनपुरबाट कांग्रेसका तारा देवी भट्ट र अछामबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर रहेका छन्। सुदूरपश्चिम प्रदेशमा माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुनेछ।