धनगढी। सुदूरपश्चिमका एक लाख ६० हजार बालबालिकालाई खोप कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ । सुदूरपश्चिममा ६ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका एक लाख ६० हजार ९६८ बालबालिकाहरूलाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको हो।
डोटी, डडेलधुरा र कैलालीमा भने बालबालिकाका लागि खोप अभियान सञ्चालन गरिएको छैन । कञ्चनपुर, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलाका गरी एक लाख ६० हजार ९६८ बालबालिकाहरूलाई मोडर्ना खोप लगाइएको स्वास्थ्य निर्देशनालयका तथ्यांक सहायक डिएन गिरीले जानकारी दिए। ‘डोटीमा तत्काल खोप अभियान सुरु गर्ने योजना भएपनि कैलाली र डडेलधुरामा भने केही पछि सञ्चालन हुने उनले जानकारी दिए। डडेलधुरा र कैलालीमा सोही उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने योजना रहेको उनको भनाइ छ ।
कैलालीका अभिभावकहरूले भने आफ्ना बालबालिकाहरूलाई चाँडै खोप लगाउन पाए ढुक्क हुने बताएका छन् । ‘तेस्रो भेरियन्टले बालबालिकालाई असर गर्छ भन्ने सुनेर चिन्ता लागेकोले चाँडो खोप लगाउन पाए सजिलो हुने उनीहरुको भनाई छ। डोटीमा खोप पठाइसकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले जनाएको छ । केन्द्रका कोल्चेन लजिष्टिक चेन पर्सन आरती पौडेलले डोटीका लागि २५ हजार मोडर्ना खोप पठाइएको बताइन् । जिल्ला स्वास्थ्य कार्यालय डोटीका खोप स्रोत व्यक्ति डिल्ली रमण जोशीले डोटीका सबै पालिकामा बिहीबारदेखि खोप अभियान सञ्चालन गर्ने तयारी भएको बताए । ‘२५ हजार बालबालिकालाई पुग्ने मात्रा प्राप्त भएको छ,’ स्रोत व्यक्ति जोशीले भने ‘त्यतिले पुग्दैन । कम्तीमा ३३ हजार खोप चाहिने अनुमान छ ।’
सुदूरपश्चिममा ३ लाख २७ हजार ४८१ लक्षित बालबालिकालाई खोप उपलब्ध गराउने योजना रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये कैलाली र डडेल्धुरा बाहेक ७ जिल्लाका २ लाख ९ सय ९७ बालबालिकालाई मात्रै अहिले मोडर्ना खोप लगाउने योजना रहेको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए । उनका अनुसार सुदूरपश्चिममा हालसम्म २ लाख ११ हजार ३० डोज मोडर्ना खोप उपलब्ध भएको छ । उनले खोप अपुग भए थप खोप ल्याइने बताए । हालसम्म कञ्चनपुरमा ६० हजार ७२२, बैतडीमा १५ हजार ९०७, दार्चुलामा १२ हजार ८५९, बाजुरा १४ हजार ९८३, बझाङमा २२ हजार ४३१ र अछाममा ३३ हजार ६६ बालबालिका मोडर्ना खोप लगाइएको स्वास्थ्य निर्देशनालयका तथ्यांक सहायक गिरीले बताए । यी ६ जिल्लामा सञ्चालित खोप अभियानका क्रममा एक हजार २०९ खोप केन्द्र तोकेर बालबालिकाहरूलाई खोप लगाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । विद्यालयहरूलाई खोप केन्द्र कायम गरिएको थियो । एक लाख ६० हजार ९६८ बालबालिकालाई मोडर्ना खोप लगाउँदा ९ बालबालिकालाई सामान्य असर देखा परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बाजुरामा एक, दार्चुलामा दुई र कञ्चनपुरमा ६ बालबालिकालाई सामान्य असर देखिएको थियो ।कान्तीपुरबाट