धनगढी। हिमपातका कारण अवरुद्ध भएका बाजुरा र बझाङका सडक अझै खुलेका छैनन्। सुदूरपश्चिमको उच्च हिमाली क्षेत्रमा मंगलवार रातिदेखिको हिमपात रोकिएको भएपनि सडकमा हिउँ जमेका कारण अवरुद्ध भएको बझाङ र बाजुराको सडक अझै सुचारु हुन नसकेको हो।
हिमपातका कारण बुधवार अवरुद्ध भएको डडेल्धुराको साउखर्क , हगुल्टे तथा बैतडीको खोड्पेको सडक सुचारु भएपनि बझाङको खोड्पे- बझाङ सडक खण्ड र बाजुराको साफे-मार्तडी सडक खण्ड अझै अवरुद्ध रहेको छ।
प्रादेशिक ट्राफिक कार्यालयअत्तरियाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार खोड्पे बझाङ सडक खण्ड स्थित झोलेको मोडमा हिउँका कारण सडक अवरुद्ध भएको हो। त्यस्तै साँफे–मार्तडी सडक खण्ड बडिमालिका नगरपालिका ४ मा गोल्देउवामा पनि सडक अवरुद्ध छ । ती क्षेत्रमा सडक सुचारुको प्रयास भइरहेको उनले बताए ।