बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै वडा कार्यालय सचिवविहीन भएको छ । एकैपटक ११ जना कर्मचारीहरूको सरुवा हुँदा पालिकाले दिने सेवा प्रभावित भएको छ ।
संघीय सरकारले स्थानीय तहका कर्मचारीको सरुवा खुला गरेपछि दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीको एकै पटक सरुवा भएको हो। गाउँपालिकामा कार्यरत एक जना इञ्जिनियर, दुई जना ओभरसियर तथा एक जना सबओभरसियर, पाँच जना वडा सचिव, एकजना आईटी अफिसर र एकजना आन्तरिक लेखा परीक्षकको सरुवा भएको बताइएको छ।
कर्मचारीहरूको अन्यत्रै सरुवा भएपछि नियमित काम चलाउन मुश्किल भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । ‘बैतडीका पालिकाहरूमध्ये पहिलो पटक कर्मचारी भर्ना गर्ने हाम्रो पालिका हो। हालसम्म सरुवा रोकेकाले कर्मचारीको अभाव थिएन ।
तर अहिले संघीय सरकारले नयाँ नीति ल्याउँदा कर्मचारीहरूको सरुवा भयो। हामीलाई काम गर्न निकै असहज भएको छ,’ उहाँले दुःखेसो पोख्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार दोगडाकेदार गाउँपालिकाका आठ वडामध्ये वडा नम्बर १ बाहेकका सबै वडा सचिवविहीन भएको छ ।