बझाङ। बझाङको दुर्गाथली गाउँपालिकामा गाउँ जोगाउन तटबन्ध नगरिएको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । दुर्गाथली गाउँपालिका–२ को दाणिम पाटा र दमाई गाउँका स्थानीयहरूले सडक खनेर गाउँ जोखिममा रहेको भए पनि हालसम्म तटबन्धको लागि कसैले चाँसो नदिएपछि वडा कार्यालयमा ताला लगाएको बताएका छन् ।
गाउँपालिकाले आर्थिक वर्ष ०७४/०७५ मा दाणिम पाटा र दमाई गाउँका लागि सडक खन्न गर्न चार लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। चाखाका स्थानीयले जग्गा नदिएपछि चौधारीबाट दाणिम पाटा गाउँमा सडक खनिएको थियो । अव्यवस्थित रुपमा बनाइएको सडकका कारण गाउँ जोखिममा परेको स्थानीय विनोद सार्कीले बताए। गाउँ जोखिममा परेको भन्दै बेला–बेला वडाअध्यक्षको ध्यानाकर्षण गराएको र वडाअध्यक्षले कुनै चाँसो नदिएपछि आफूहरू वडा कार्यालयमा ताला लगाउन बाध्य भएको स्थानीयको गुनासो छ ।
सुदूरपश्चिम प्रदेश सरकारले दमाई गाउँ पहिरो नियन्त्रणका लागि १० लाख रकम विनियोजन गरे पनि स्थानीयलाई जानकारी नै नदिएर समिति बनाइएको पाइएको छ। स्थानीयले ताला लगाए पनि जानकारी नै नदिएर प्रहरीममार्फत ताला खुलाइएको छ । दुर्गाथली गाउँपालिका–२ का वडाअध्यक्ष दीपक सोतीले वडा कार्यालयमा कुनै पनि निवेदन नदिएको र आफूलाई कुनै जानकारी बिना नै ताला लगाएकाले ताला काट्नु परेको बताए । दाणिम पाटा र दमाई गाउँमा कुनै जोखिम नरहेको र प्रदेश सरकारले छुट्याएको बजेटबाट दमाई गाउँ तटबन्धको काम सुरु हुने प्रक्रियामा रहेको उनले बताए ।