काठमाडौं। किसानले उखुको समर्थन मूल्य ६ सय ८० रुपैयाँ प्रतिक्विन्टल तोकिदिन सरकारसँग माग गरेका छन्। कृषिमन्त्री महिन्द्रराय यादवसँग चिनीको मूल्यका आधारमा उखुको मूल्य चाँडो तोक्न आग्रह गरेका हुन्।
‘गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ र चिनी प्रतिकिलो ६२ रुपैयाँ तोकियो। तर, बजारमा चिनी प्रतिकिलो ९५ पुग्यो हाम्रो पसिना मूल्य तोकेभन्दा बढेन,’ नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भने, ‘यसपालि ६ सय ८० रुपैयाँ नतोकिए किसान उक्सने ठाउँ छैन।’ सरकार, उद्योगी र किसान प्रतिनिधिबीच मंसिर २४ र पुस ७ गते बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो।
‘छलफलमा चिनी उद्योगका प्रतिनिधि आएनन्। मन्त्रीसँग अर्को कोठामा भेटेर बाहिरिए,’ मैनालीले भने। ४१ जिल्लामा उखु खेती हुन्छ। फाइदा नहुँदा किसानले खेती नै गर्न छाडिरहेका छन्। उखुको सट्टा केरा, धान, मकै र ड्रागन खेती थालेका छन्। आपूर्ति मन्त्रालयको तथ्यांकले पनि मुख्य सिजनमै उखुको उत्पादन घटेको देखाएको छ। गत वर्ष उखु मिलमा पुर्याउने समय (क्रिसिङ सिजन) ४१.६७ प्रतिशतले उत्पादन घटेको छ। किसानले खेती नगरेकै कारण उत्पादन घटेको उद्योग मन्त्रालयकी उपसचिव उर्मिला केसी बताउँछिन्।
‘चिनीको माग वार्षिक २ लाख ५० हजार मेट्रिकटन छ। तर, उत्पादन आधा पनि हुँदैन,’ केसीले भनिन्, ‘त्यसैले भारतबाट चिनी आयात गर्नुपर्ने बाध्यता छ।’ यसैबीच, उखुको मूल्य एक हप्ताभित्र तोकिने कृषिमन्त्री यादवका स्वकीय सचिव दिनेश यादवले बताए। ‘किसानले मागेको मूल्य दिँदा मिल चलाउनै नक्ने भन्दै उद्योगीहरू मानिरहेका छैनन्,’ उनले भने, ‘तर छलफल जारी रहेका कारण केही दिनमै निष्कर्षमा पुग्छौं।’ सरकारले तोक्न लागेको मूल्यबारे उनले खुलाएनन्।