बझाङ। बझाङमा हुलाक बचत बैंकमा राखिएको आफ्नो रकम फिर्ता माग्दै सदरमुकाम चैनपुरमा आन्दोलीत भएका छन् । हुलाक बचत बैंकको रकम कर्मचारीले हिनामिना गरेकाले उनीहरूबाट फिर्ता नहुन्जेल भुक्तानी दिन नमिल्ने बताएपछि उनीहरु आन्दोलत बनेका हुन्।आपतविपत् र बुढेसकालमा काम लाग्ला भनेर हुलाक बचत बैंकमा जम्मा गर्दै आएको रकम उपचारका लागि झिक्न हुलाक बैंकले भुक्तानी गर्न नसक्ने भन्दै फिर्ता पठाएपछि बचतकर्ता आन्दोलीत भएका हुन्।
बझाङको जयपृथ्वी नगरपालिका ४ का ६० बर्षिय तिपुरे उपाध्यायले अन्नबाली बेचेर र ज्याला मजदुरीबाट हुलाक बचत बैंकमा जम्मा गर्दै आएको रकम भुक्तानी गर्न नसक्ने भन्दै फिर्ता नदिएपछि समस्यामा परेको बताए । उनले भने ,आपतविपत् र बुढेसकालमा काम लाग्ला भनेर हुलाक बचत बैंकमा जम्मा गर्थे । ७ वर्षदेखी जम्मा गर्दै आएको रकम १० लाख पुगेको छ । गत वर्ष उपचारका लागि जब उनी रकम झिक्न हुलाक बैंक पुगे बैंकले भुक्तानी गर्न नसक्ने भन्दै फिर्ता पठाएपछि त्यसयता उपाध्याय सरकारी निकाय, प्रहरी प्रसासन जनप्रतीनिधीसम्म धाएपनी रकम फिर्ता हुन नसकेको उनले बताए।
रकम फिर्ता पाउँ भन्दै उनी जस्ता हुलाक बचत बैंकबाट ठगिएकाहरू धर्ना, नारा जुलुस आन्दोलन गरिरहेका छन्। घरमा ऋण सापट गरेर उपचार, खाद्यान्न लगायत बालबच्चाको खर्चका लागी रकम झिक्न खोज्दा अहिले पैसा छैन पछि आउनु भन्दै फर्काइ दिने गरेको बचतकर्ताहरुको भनाई छ। हुलाक बचत बैंकबाट पीडित हुनेहरू बझाङभर १७ सय १ जना छन् । कर्मचारीले नै रकम खाइदिएपछि उनीहरूको ५ करोड ७८ लाख ६४ हजार रुपैयाँ दुई वर्षदेखि अलपत्र परेको छ । बचतकर्ताहरूमा धेरैजसो हिंसापीडित र न्यून आए भएका ग्रामीण महिला, ज्येष्ठ नागरिक तथा बालबालिका छन् ।
उनीहरूमध्ये धेरैजसो सदरमुकाम चैनपुर र आसपासका क्षेत्रमा भारी बोकेर गुजारा गर्नेहरू छन् । बचत बैंकको रकम झिक्न नपाउँदा कैयौंको व्यापार व्यवसायसमेत चौपट भएको छ । रकम झिक्न दैनिकजसो लाग्ने सेवाग्राहीको भीडलाई निराश फर्काउन पर्दा हुलाक कार्यालयका कर्मचारी पनि दिक्क भइसकेका छन् । जिल्ला हुलाक कार्यालयका कर्मचारी यज्ञराज खत्रीले कोही खानलाई पैसा छैन, बालबच्चा भोकै छन् भनेर आउने गरेको बताए । उनले भने कोही परिवारका सदस्य अस्पतालमा सिकिस्त छन्, उपचार खर्च छैन, रुँदै भनेर आउँछन् । फर्काउँदाफर्काउँदा दिक्क भइसक्यौं ।’ उनले धेरै समस्या भएका कतिपयलाई व्यक्तिगत रूपमा खर्च दिएरसमेत पठाउने गरेको बताए ।
कसरी भयो हिनामिना ?
आर्थिक वर्ष २०७०/७१ बाट बझाङमा हुलाक बचत बैंकले सेवा सुरु गरेको थियो । आकर्षक ब्याज पाउने विज्ञापनसहित हुलाकले बचत गर्न अनुरोध गरेपछि यहाँका स्थानीयहरू ९खास गरी न्यून आयस्रोत भएका, महिला, बालबालिका र ज्येष्ठ नागरिक० यसतर्फ आकर्षित भएका थिए । फलस्वरूप पहिलो वर्ष नै ३ करोड ४९ लाख ७८ हजारभन्दा बढी रकम बचत स्वरूप जम्मा भयो । जब हुलाकमा बचतकर्ताको भीड लाग्न थाल्यो । उनीहरूको बचतमाथि कार्यालय प्रमुखसहितका कर्मचारी नै आँखा लगाउन थाले । तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायले पहिलो वर्ष नै ७४ लाखभन्दा बढी रकम हिनामिना गरे । ‘कार्यालयको लेजरमा बचत गरेको भनेर देखाउँदा रहेछ तर रकमचाहिँ आफैं राख्दा रहेछन्,’ हुलाक कार्यालयका प्रमुख राजेन्द्र बोहराले भने, ‘हरेक दिन बैंकमा जम्मा गर्नुपर्ने पैसा आफैंले राखेर बाहिर ब्याजमा लगाउने, घरजग्गा खरिद गर्ने गर्दा रहेछन् ।’
कोही बचत फिर्ता माग्न आएमा वा ऋण माग्न आएमा पनि खल्तीबाटै दिएर बैंक चलाउने गरेका कडायत र उपाध्यायले चार वर्षसम्म (२०७०/७१ देखि २०७४/७५) जम्मा गरेको ५ करोड ७८ लाखमध्ये ४ करोड ९५ लाख रकम अपचलन गरेको बताए । उनीहरूको यो कर्तुतका बारेमा कुनै बचतकर्ताले थाहा पाएपछि २०७५ को अन्तिमतिर अख्तियार अनुसन्धान आयोगमा उजुरी गरे । अख्तियारको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले गरेको प्रारम्भिक छानबिन गर्दा कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायले हचुवाका भरमा खाता व्यवस्थापन गरेको, दैनिक बैंकमा जम्मा गर्नुपर्ने रकम तहबिल (व्यक्तिकै जिम्मा) मा राखेर अपचलन गरेको र केन्द्रीय धरौटी खातामा जम्मा भएको रकमसमेत अपचलन गरेर उल्टै बचत बैंक घाटामा गएको विवरण पेस गरेको पाइयो । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘जनताले जम्मा गरेको रकमको सुरक्षा गर्नुपर्ने र सहुलियत दिनुपर्ने निकायका कर्मचारीले रकम अपचलन गरी उल्टै घाटा भएको भनिएकाले यहाँ व्यापक अनियमितता भएको देखिन्छ । सो सम्बन्धमा थप छानबिन गरी आयोगबाट कारबाहीको पहल होस् ।’
रकम फिर्ताको टुंगो छैन – कर्मचारी
बचत रकम हिनामिना गरेका कर्मचारीहरूको मुद्दा अदालतमा विचाराधीन छ । तर बचतकर्ताहरूको रकमबारे जिम्मेवार कर्मचारी पनि अन्योलमा छन् । ‘सरकारी निकायमा जम्मा गरेको जनताको रकम सुरक्षा गर्ने जिम्मा राज्यको हो । बचतकर्ताहरूको रकम तोकिएको ब्याजसहित फिर्ता गर्नुपर्छ भनेर हामीले पटकपटक माथिल्ला निकायमा अनुरोध गरिरहेका छौं,’ हुलाक कार्यालयका प्रमुख राजेन्द्र बोहरा भन्छन्, ‘केन्द्रमा सम्पर्क गर्दा हिनामिना गर्ने कर्मचारीबाट असुल गरेर फिर्ता गर भन्छन् । कहिले प्रक्रियामा छौं भन्छन् । कहिले फिर्ता हुन्छ केही निश्चित छैन ।’