बैतडी। बैतडीमा अशक्तलाई शिविर मार्फत नागरिकता प्रदान गरीएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार पञ्चेश्वर–३ कुलाउमा अपांगता भएका, जेष्ठ नागरिकलगायत अशक्तहरूलाई नागरिकता शिविरको आयोजना प्रदान गरेको छ।नागरिकता लिन सदरमुकाम पुग्न नसक्नेका लागि पालिकामै टोली खटाएर नागरिकता दिन सुरु गरेको छ।
जन्मजातै अपांगता भएका आफ्ना २० वर्षका दाजुले पनि शुक्रबार मात्रै नागरिकता पाएको शिवनाथ गाउँपालिकाका जीवनसिंह साउदले बताए । ‘जिल्लाबाट आएको टोलीले हाम्रो गाउँपालिकामै आएर काम गरिदियो । हामी दाइलाई जिल्ला लैजान सक्ने अवस्थामै थिएनौं । जिल्ला जान नसकेरै अहिलेसम्म नागरिकता पनि बनाएका थिएनौं,’ उनले भने । नागरिकता पाएपछि पालिका र अन्य संघसंस्थाबाट सुविधा पाइने आशा सेवाग्राहीहरूले गरेका छन् ।
जिल्ला प्रशासनले नागरिकता लिन सदरमुकाम पुग्न नसक्नेका लागि पालिकामै टोली खटाएर नागरिकता दिन सुरु गरेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । उनीसहितको टोली पालिकामा पुगिरहेको हो । पञ्चेश्वरबाट सुरु गरिएको शिविर सबै पालिकामा जाने उनी बताउँछन् । ‘नागरिकता लिनको लागि सदरमुकामसम्म पुग्न नसक्नेका लागि गाउँमै गएर सहजीकरण गरिरहेका छौं,’ उनले भने, ‘जनतालाई सहज होला भन्ने उद्देश्यले जिल्लाका १० वटै पालिकामा गएर सेवा दिने कार्यक्रम बनाएका छौं ।’ पञ्चेश्वरमा शुक्रबार शिविरबाट ३७ जनाले सेवा लिएका छन् । १५ जना शिवनाथ र २ जना मेलौलीका स्थानीयले पनि सेवा लिएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।