डोटी। डोटीको दिपायलमा प्रादेशिक बायोमेडिकल कार्यशाला स्थापना गरिएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका-४ राजपुरमा रहेको सेती सभाहलमा प्रादेशिक बायोमेडिकलको स्थापना गरिएको हो । बायोमेडिकल कार्यशालाको सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले बायोमेडिकलको स्थापना गरिएको हो । संघीय राजधानी बाहिर स्थापना भएको यो पहिलो बायोमेडिकल हो । मुख्यमन्त्री भट्टले यसको व्यवस्थापन र दक्ष जनशक्तिका लागि प्रदेश सरकारले बजेटको कमी हुन नदिने बताए ।
सुदूरपश्चिम लगायत छिमेकी प्रदेश समेत यसबाट लाभान्वित हुने उनले बताए । मर्मत सम्भारको अभावमा थन्किएका स्वास्थ्य सामग्रीहरू अबदेखि बायोमेडिकल कार्यशालामा मर्मत हुने स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताए। बायोमेडिकल सञ्चालनका लागि आवश्यक जनशक्तिको पनि व्यवस्था गरिएको उनले जानकारी दिए ।