बैतडी। बैतडीमा मतदाता नामावलीमा नाम दर्ता गराउन सकस भएको छ । बैतडीका स्थानीय तहहरुमा फोटो सहितको मतदाता नामावली संकलन कार्य जारी रहेकोमा नाम दर्ता गराउन सकस भएको हो।
मंसिर १७ गतेदेखि २६ गते सम्म ५ ओटा स्थानीय तह सम्पन्न भईसकेको र मंसिर २८ देखि ४ ओटा स्थानीय तहमा फोटो सहितको मतदाता नामावली संकलन कार्य भईरहेको छ । आगामी निर्वाचनलाई लक्षित गरेर फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य चलिरहेको भएपनि स्थानीयहरुले भने नामदर्ता गराउन मुस्किल भएको बताएका छन् । स्थानीय तहका केन्द्रहरुमा दर्ता गर्ने गरिएकाले केन्द्र सम्म पुग्न निकै समस्या भएको स्थानीयहरुले बताएका छन् ।
सिगास गाउँपालिकाको केन्द्र गर्जेमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि गाउँपालिकाको केन्द्र पुग्न हिँडेर एकदिन लाग्छ । त्यसैले धेरै जसोले मतदाता नामावलीमा नाम दर्ता गर्न समस्या छ । टाढाका नागरिकलाई केन्द्रमा पुगेर नामदर्ता गराउन समस्या भएको स्थानीय शिक्षक शिवराज कलौनीले बताए । उनले भने ‘महाकाली किनारका बासिन्दाहरुलाई केन्द्रमा पुग्न निकै समस्या भएको छ । नामदर्ता गराउन केन्द्रमा मात्रै व्यवस्था भएकाले समस्या भएको छ ।’
स्थानीय तहहरु केन्द्रमा मात्रै मतदाता नामावलीमा नामदर्ता गर्न सकिने व्यवस्थाले धेरै नागरिक नामदर्ता गराउनबाट वञ्चित भएका स्थानीयहरुले बताएका छन् । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले निर्वाचन आयोगले अहिले स्थानीय तहका केन्द्रबाट मात्रै नामदर्ता गर्ने कार्यक्रम ल्याएकाले अन्यत्रबाट नाम दर्ता गर्न नसकिने बताए । बैतडीमा दुई चरणमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने योजना अनुसार पहिलो चरणमा ५ स्थानीय तहमा सो कार्य सम्पन्न भईसकेको र ४ स्थानीय तहमा पौष ८ गते सम्म नाम दर्ता गरिने उनले बताए । उनले भने‘अहिले वडा तहमा फोटो सहितको मतदाता नामावली संकलनको कार्यक्रम छैन् । निर्वाचन आयोगको निर्देशन अनुसार अहिले तहका केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन भईरहेको छ ।’ जिल्ला प्रशासन कार्यालयमा भने निर्वाचन घोषणा नहुँदा सम्म फोटो सहितको मतदाता नामावलीमा नामदर्ता गर्न सकिने फुँयालले बताए ।