डोटी। डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडाको बेड टोल जिल्लाकै पहिलो बालविवाह मुक्त टोल घोषणा भएको छ । बाल विवाह अन्त्य गर्ने उदेश्य सहित एक कार्यक्रमका बिच उक्त टोललाई बालबिवाह मुक्त घोषणा गरिएको हो।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम बहादुर खड्काले टोल विद्यालय हुदै अबको केही महिना भित्र बालबिवाह मुक्त वडा घोषणा गर्ने तयारी भईरहेको र चाँडै बालबिवाह मुक्त वडा बनाउने प्रतिबद्धता व्यक्त गरे। सामुदायिक विकास केन्द्र डोटीका शिक्षा अधिकृत तथा सुचना अधिकारी एकराज बडुले उक्त टोलमा बालबिवाह नभएकोले बालबिवाह मुक्त टोल घोषणा गरिएको जानकारी दिए।
जिल्लाकै पहिलो टोल घोषणा हुनमा सबै सरोकारवालाको महत्वपूर्ण भुमिका रहेको भन्दै सबैलाइ धन्यवाद दिए। कार्यक्रममा बालबालिकाले बालबिवाह सम्बन्धि विभिन्न सास्कृतिक कार्यक्रम, सडक नाटक, गित प्रस्तुत गरेका थिए । स्थानिय, महिला, बालबालिका, संस्थाका प्रतिनिधि, वडा अध्यक्ष, सदस्य लगायतको उपस्थिति रहेको थियो। नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ ले पनि सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ।
सोही लक्ष्य अनुसार ‘विहावारी २० बर्ष पारी’ नारा दिएको छ । सरकारको लक्ष्य हासिल गर्न र बालबिवाह न्युनिकरण गर्नको लागि संस्थाले काम गरिरहेको गुड नेवर्स इन्टरनेशनल नेपालका जिल्ला संयोजक रन्जित चौधरीले जानकारी दिए। दिपायल सिलगढी नगरपालिका वडा नं ८ लाइ बालबिवाह मुक्त क्षेत्र घोषणा गर्न तीन वर्ष अघिदेखि गुड नेवर्स इन्टरनेट नेपाल र सामुदायिक विकास केन्द्र डोटीको सहकार्यमा विद्यालय र समुदायमा बिभिन्न कार्यक्रम भैरहेका छन् ।