‘वन लाया गोरु भैँसा फर्की जान्ना साँझ
म एकली छाणीकन काँ गई रङ्गी बाज(पति)
साइ(पति)ले मो बरबट्टै(चौपट्टै) छाणी के गरी खानु हो
साइ बम्बै बेपत्ता भइ गई मैले काँ जानु हो
खोली खेत बिनुभैंसी एकली बाग(बाघ) लागी
सबैकी घर बारी भइगइ मेरा के आगलागी।’
डोटी। डोटी शिखर नगरपालिका–१ कपल्लेकीकी ४१ वर्षीया महिसरा दडिमानाका श्रीमान टेकबहादुर कमाउनका लागि २० वर्ष पहिले भारतको जोधपुर गए। विवाहलगत्तै श्रीमान कमाउन गएपछि धन लिएर आउँछन् र घरमा आरामसँग जीवन जिउन सहज हुन्छ भन्ने उनको सपना पूरा भएन।
कमाउन गएका श्रीमान २० औं वर्षसम्म पनि घर नफर्किएपछि उनलाई मर्नु न बाँच्नुसरह भएको छ। श्रीमान कुन र कस्ता अवस्थामा छन् भन्ने विषयमा जानकारीसमेत नहुँदा उनी चिन्तित बनेकी छन्। टेकबहादुर कमाउनका लागि भारत गएका बेला गर्भमा भएको श्रीमानको नासो अहिले हुर्किएर ठूलो भए पनि सिउँदोमा सिन्दूर हाल्ने व्यक्ति अझै सम्पर्कमा नआउँदा उनी हिजोआज घरमा एक्लै छिन्। करिब १५ वर्षका उमेरमा वैवाहिक जीवनमा बाँधिएकी महिसराले श्रीमानबाट सुख त परै जाओस्, अनुहारसम्म हेर्न नपाएको कम्तीमा पनि २० वर्ष भयो। महिसराले भनिन्, ‘म तीन महिनाकी गर्भवती थिएँ, त्यतिबेला श्रीमान कमाउनका लागि भारत जानुभएको हो, अहिलेसम्म अत्तोपत्तो छैन, म के गरी बाँचौं।’ छोरा गोपालले बाबा किन आएनन् भनेर आमालाई दैनिक सोध्ने गरेका कारण उनलाई झनै पीडा हुने गरेको छ। साथीसंगीका बुवा भारतबाट घर फर्किंदा आफ्ना चाहिँ नफर्केपछि गोपालले बाबा किन आएनन् भनेर सोध्ने गरेको तर आफूले उत्तर दिन नसकेकामा उनी चिन्ता व्यक्त गर्छिन्।
उनले रूँदै भनिन्, ‘के भयो होला, कहाँ गए होलान्, कसले खोजी दिने मेरा श्रीमान ?’ चार वर्षसम्म कुनै पत्तो थिएन। पछि श्रीमान अचानक आफैं घर आएको महिसराले बताइन्।’त्यसपछि कमाउन श्रीमान फेरि भारत गएपछि म उहाँको बाटो कुरेरै बसें तर आउनुभएन, अब कहिले आउलान्, अझै आशा मारेकी छैन’, उनले भनिन्। सानै उमेरदेखि रक्सीको नशामा रमाउने बानी परेका टेकबहादुर धेरै दिन घरमा बस्नुभएन। फेरि कमाउने भन्दै घरबाट गए पनि कहाँ गएको भन्ने उहाँकी श्रीमती तथा गाउँलेलाई अहिलेसम्म अत्तोपत्तो छैन। महिसार हिजोआज बाख्रा पालेर, अर्काको मेलापात गरेर साँझ-बिहानको छाक टार्छिन्। माइती, देवर र जेठाजुका सहयोगमा महिसराले छोरालाई हुर्काइन्, दुःख कष्ट गरेर भए पनि कक्षा १२ सम्म पढाइन्। गोपाललाई स्कुलमा कक्षा १२ को एक विषय लागेको थियो, शिक्षकले चान्स (ग्रेड वृद्धि) दिन पाउने भनेका थिए तर उनी पनि रोजगारीका लागि भारत गए। त्यसअघि उनी छोराको खुसीमा आफ्नो दुःख बिर्सन खोज्थिन् तर ऊ पनि कमाउन मुग्लान पसेपछि उनलाई त्यो खुसी मिल्न सकेन। श्रीमान भारतमै हराएको घटनाले पनि छोरा भारत नपसोस् भन्ने चाहना महिसराको थियो तर पेट पाल्नकै लागि मुग्लान पस्नुपर्ने लाखौं युवाको नियतिजस्तै गोपालको रह्यो। महिसराको जस्तै अवस्था अर्की स्थानीयबासी कृष्णा गिरीको पनि छ। करिब १६ वर्षका उमेरमा वैवाहिक जीवनमा बाँधिएकी कृष्णा पनि १६ वर्षदेखि श्रीमानका पर्खाइमा घरमा छिन्।
द्वन्द्वकालमा कृष्णाका श्रीमान दीपक घरबाट केही नबोली चुपचाप निस्किए। गाउँतिरै डुल्दै हुनुहोला भन्ने सोचेकी कृष्णाले श्रीमान कहाँ गए अहिलेसम्म खबर पाएकी छैन। दिन, महिना र वर्ष बित्दै जाँदा १६ वर्ष पूरा भएछ तर दीपक घर फर्केर आएनन्। उनी घरबाट जाँदा गर्भमा रहेकी छोरी लक्ष्मी पनि अहिले १५ वर्ष पूरा भइसकेकी छन्। महिसरा र कृष्णा मात्रै हैनन् गाउँमा थुप्रै महिलाले यस्तो पीडा खेपिरहनुपरेको शिखर नगरपालिका–१ कपल्लेकी चम्पा पार्की बताउँछिन्। तीन वर्ष पहिले महिसरा र कृष्णाले श्रीमानको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएका थिए। प्रहरी कार्यालयबाट पनि कुनै जानकारी नआएपछि उनीहरूले अहिले श्रीमान आउने आशा मारिसकेका छन्। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–१, बाँझ गाउँका ३३ वर्षीय दिलबहादुर खड्का पनि परिवारको सम्पर्कमा नआएको कम्तीमा ६ वर्ष पुगेको छ। पति फर्केर आउने आशमा पत्नी प्रेमाका दिन बितिरहेको छ। विसं २०७२ मा पैसा कमाउन दिलबहादुर भारतको बेंगलुरू गएका थिए। श्रीमान अहिलेसम्म पनि नफर्किंदा आफूलाई बाँच्नु न मर्नुसरह भएको प्रेमा बताउँछिन्। उनी भन्छिन्, ‘कमाउन गएका श्रीमान अहिलेसम्म फर्किनुभएन, म के गरी खानू र कसरी बाँच्नू ? मर्न पनि सक्दिनँ, बाँच्न पनि गाह्रो भयो।’ सम्पर्कविहीन पतिको खोजीका लागि सबै ठाउँमा धाउँदा पनि केही खबर पाउन नसकेपछि झनै पीडा भएको उनको भनाइ छ। उनले खसमको खोजीका लागि विभिन्न ठाउँमा जोखना हेराउनाका साथै देवीदेवता पनि पुजिन् छ तर कुनै खबर नपाउँदा उनको तस्बिर राखेर श्रीमान हराएको सूचना सामाजिक सञ्जालमा राखी खोजीका लागि सबैसँग आग्रह गरिन्। सामाजिक सञ्जालबाट पनि समाधान नभएपछि अब हराएका पतिको खोजीका लागि प्रहरी कार्यालयमा निवेदनसहित जाने तयारीमा रहेको उनले जानकारी दिइन्।
शिखर–३, जोरागाउँकी ६० वर्षीया जोगेनी भुल भने घरमा नौलो मान्छे आउनेबित्तिकै छोराको तस्बीर देखाउँदै कसैले कहीँ देख्नुभयो कि भनेर सोधपुछ गर्छिन्। करिब २५ वर्षअघि रोजगारीका लागि भारत पसेका जोगेनीका जेठा छोरा चेत अहिलेसम्म पनि घर फर्किएका छैनन्। छोराको पीडाले उनलाई पनि दिनहुँ सताउन थालेको छ। उनी भन्छिन्, ‘छोरो नदेखेरै मर्ने भएँ, मर्नुअघि एकपटक उसलाई देख्ने धोको छ, कुन भगवानले उसलाई खोजिदेला।’ बेपत्ता चेत जीवित छन् वा छैनन्, अहिलेसम्म कहाँ छन् भन्ने उनलाई जानकारी छैन। चेत पनि पैसा कमाउन भारत, मुम्बई गएकामा उतैबाट सम्पर्कविहीन भएका छन्। आमा जोगेनीका अनुसार चेत मुम्बईमा चौकिदारी काम गर्थे। उनीसँगै गएका गाउँका अन्य साथीभाइ घर फर्किए पनि उनी अहिलेसम्म फर्किएका छैनन्। सम्पर्कमा नआएका चेतका बारेमा भुल परिवारले कतै उजुरी वा निवेदन भने दिएको छैन। कामका लागि भारत गएपछि सम्पर्कमा नआएका नेपालीको तथ्यांक संकलन गरिरहेको गैरसरकारी संस्था निड्स नेपालका अनुसार रोजगारीका लागि भारतमा गएकाहरूमा शिखर नगरपालिकाका मात्रै १०० जना बेपत्ता भएका छन्। जिल्लाभरिको पूरै तथ्यांक लिने हो भने भारतमा गएर बेपत्ता भएकाहरूको सङ्ख्या अझै बढ्न सक्ने उक्त संस्थाको जिकिर छ। कामका लागि भारत गएका सुदूरपश्चिमका नागरिकको अवस्था र हराएकाहरू केकति कारणले सम्पर्कविहीन भएका हुन् भन्ने विषयमा अनुसन्धान गइरहेको निड्स नेपालका सहकार्यकारी अधिकृत प्रकाशचन्द्र मडैले बताए। उनले भने, ‘कामका लागि भारत गएका र पछि सम्पर्कविहीन भएकाहरूका बारेमा अनुसन्धान भइरहेको छ, कसरी र किन सम्पर्कविहीन भए, खोजी गर्दैछौं।’ रोजगारीका क्रममा सानै उमेरमा भारत गएकाहरू उतै रमाउने र त्यहीँ विवाह गरी बस्ने गरेका कारण पनि कतिपय व्यक्ति पछि गएर घरपरिवारको सम्पर्कमा नआउने गरेको हुन सक्ने डोटी प्रहरी प्रमुख दानबहादुर मल्लले बताए।
प्रहरी उपरीक्षक मल्लले भने, ‘यहाँ सानै उमेरमा भारत जाने बानी रहेछ, उनीहरू भारतमा कमाउने र त्यहीँ विवाह गरी बस्ने भएकाले पनि घरपरिवारको सम्पर्कमा नआउने गरेका हुन सक्छन्, विस्तृत के हो, हामी पनि बुझ्दैछौं।’ निड्स नेपालको तथ्याङ्कानुसार कतिपय नेपाली पारिवारिक रूपमा तनाव भोगेर भारत जाने र उतै बेपत्ता हुने गरेका छन्। सम्पर्कमा नआएकामध्ये केही विभिन्न कारागार रहेको उक्त संस्थाको अनुमान छ। बेपत्ता हुनेमध्ये धेरैजसो बिहे नहुँदै भारत पसेका छन्। घरपरिवारको जिम्मेवारी नभएका कतिपय मानिस भारतमै रमाउने र हराउने गरेको देखिएको छ। भारतमा हराएका आफन्तबारे प्रहरीमा उजुरी खासै नआउने गरेको प्रहरीको भनाइ छ। सुदूरपश्चिम र मध्यपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत नै हो। पुस्तौंदेखि यहाँका नागरिक रोजगारीका लागि त्यहाँ जाने क्रम जारी छ। मडैका अनुसार सन् १८१६ को सुगौली सन्धिपछि नेपाली कामका लागि भारत जान थालेको पाइन्छ। सरकारले भने भारतमा काम गर्न जाने नेपालीलाई वैदेशिक रोजगारीको सूचीमा राखेको छैन। कामका लागि तेस्रो मुलुक गएकाहरूले केही समस्या भए बीमादेखि अन्य सुविधा पाए पनि कामकै लागि ‘हिन्दूस्थान’ गएका नेपाली भने त्यस्तो सुविधाबाट बञ्चित छन्। कामका लागि भारत जानका लागि भने कुनै नीतिनियम छैन। नीतिनियम नहुँदा भारतमा हराएका तथा अङ्गभङ्ग र मृत्यु भएकाका परिवारका सदस्यले क्षतिपूर्तिसमेत पाउने गरेका छैनन्। जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दले श्रीमान तथा घरका परिवार हराएका विषयमा निवेदन पर्ने गरे पनि कुन ठाउँमा र कहिले हराएका हुन् भन्ने यकिन जानकारी नआएका कारण खोजतलास गर्न समस्या भएको बताए। प्रहरी निरीक्षक चन्दले भने, ‘घरका सदस्य हराएको भन्ने निवेदन (खबर) त आउँछ तर परिवारले कहिले, कहाँबाट हराए भन्ने जानकारी दिन सक्दैनन्, त्यसैले तिनका खोजीमा केही समस्या हुने गरेको छ, तै पनि हामी हाम्रा क्षेत्रबाट खोजतलासका लागि पहल गरिरहेका छौं।’