कैलाली। कैलालीमा अहिलेसम्म लक्षित उमेर समूहको ४६ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन्। खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ५५ प्रतिशत पुगेको छ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कोरोना विरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ माथिको जनसङ्ख्या ६, लाख, ६४ हजार, ६८८ रहेको छ । जसमध्ये ३ लाख, ४६ हजार, १०५ जनाले खोपको पहिलो मात्रा र २ लाख, ८८ हजार, ९५३ जनाले खोपको पूर्ण मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका कोभिड १९ स्रोत व्यक्ति प्रतिमा महताले जानकारी दिए।
कैलाली जिल्लामा पालिका अनुसार सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा ६२ प्रतिसतले पहिलो मात्रा खोप लगाएका छन्।भने सबैभन्दा कम मोहन्याल गाउँपालिकामा ३२ र चुरे गाउँपालिकामा ३० प्रतिशतले मात्र पहिलो मात्रा खोप लगाएका छन्। कम खोप लगाएका पालिकाहरूलाई प्राथमिकता दिएर खोप लगाउने काम अगाडी बढाइएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
नयाँ भेरियन्ट ओमीक्रोन आएसँगै कैलालीमा पनि त्यसबाट बच्नका लागि खोप लगाउने कार्यलाई तीव्रता दिनुका साथै त्यसबाट बच्ने उपायका बारेमा जानकारी गराउने काम भइरहेको पनि स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। कैलालीमा फाइजर खोप लगाउने जनसङ्ख्याको तथ्याङ्क सङ्कलन भइरहेको र गएको कार्तिक अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म पहिलो मात्रा फाइजर खोप लगाएका व्यक्तिहरूलाई मङ्सिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो मात्रा लगाउने श्रोत व्यक्ति महताले जानकारी गराए ।