दार्चुला। दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्रमा पर्यटक आगमनमा कमी देखीएको छ। पर्यटकीय सम्भावना अत्यधिक भए पनि अपिनाम्पा संरक्षण क्षेत्र पर्यटकीय गन्तव्य बन्न सकेको छैन।
जैविक विविधता भएको अपिनाम्पामा प्रचारप्रसार अभावका कारण पर्यटक भित्र्याउन नसकिएको सरोकारवालाहरु बताउँछन् । चालू आवको हालसम्ममा ३ जना मात्र पर्यटक भित्रिएको अपिनाम्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत सन्त बहादुर मगरले बताए। बाह्य पर्यटक अपि हिमाल आरोहण तथा अवलोकनका लागि तथा संरक्षणभित्रका वन्यजन्तु हेर्न आउने गरेका छन् ।यस यस वर्ष आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा कमी आएको उनले बताए । हाल सम्म २ जना जर्मन,१ जना नेदरल्याण्डका गरी ३ जनामात्रै पर्यटक आएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ। संरक्षण क्षेत्रभित्र अपि हिमाल, नाम्पा हिमाल, व्याँस हिमाललगायत थुप्रै हिमशृङ्खला रहेका छन्।
अपिनाम्पा संरक्षण क्षेत्र ७ हजार १३२ मिटर उचाइसम्म फैलिएको छ। अध्ययन अनुसार अपिनाम्पाभित्र ३० भन्दा बढी प्रजातिका स्तनधारी, २ सय भन्दा बढी प्रजातिका चरा तथा ५ सय भन्दा बढी प्रजातिका वनस्पति पाइन्छन्। संरक्षण क्षेत्रभित्र हिउँ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, चितुवा, बाँदर, हिमाली भालु, स्याल, दुम्सी, ब्वाँसो, लङ्गुर, थारलगायत वन्यजन्तु रहेका छन्।यसैगरी डाँफे, मुनाल, चिल, च्याखुरा, हलेसो, भ्याकुरलगायत २ सय भन्दा बढी प्रजातिका चरा रहेको मगरले बताए। जिल्लामा पथप्रदर्शक तथा सुविधायुक्त होटलको अभाव छ । होटल व्यवसायी तालीमप्राप्त नहुनु, भरियालाई तालीम नदिइनु र पथप्रदर्शक उत्पादन हुन नसक्दा पर्यटन विकासले फड्को मार्न नसकेको कार्यालय प्रमुख गणेश पौडेलको भनाई रहेको छ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयसँग समन्वय गर्दै कैलाश पवित्र भूपरिधि संरक्षण तथा विकास पहल कार्यक्रमको पहिलो चरण सम्पन्न भएको छ। सो कार्यक्रमले स्थानीयवासीको जीविकोपार्जनको स्तर माथि उकास्न अल्लो प्रशोधन तथा बजारीकरण, लोक्ताबाट हाते कागज बनाउने काम, जम्बु खेती, स्याउ खेती, चिउरी घिउ उत्पादनजस्ता कार्यक्रम सञ्चालन गरेको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।