कञ्चनपुर। कञ्चनपुरमा शिक्षक र विद्यार्थीमा कोभिड संक्रमण पुष्टि भएपछि बिद्यालय बन्द गरिएको छ। शिक्षक र विद्यार्थीसँगै अभिभावकमा समेत कोभिडको संक्रमण पुष्टि भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाको कृष्ण आधारभूत विद्यालय सोमबारदेखि बन्द गरिएको हो।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार विद्यालयका २ शिक्षकसँगै ५ कक्षामा अध्ययनरत ११ वर्षीय छात्र र उनकी आमामा संक्रमण पुष्टि भएको हो । उनीहरू सबैमा आइतबार एन्टिजेन परीक्षणबाट संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए । ‘आइतबार संक्रमण देखिएपछि सोमबारदेखि केही दिनका लागि विद्यालय बन्द गरिएको छ,’ भट्टले भने, ‘शिक्षक, विद्यार्थी र अभिभावक सबै त्रसित भएका छन् ।’ उनका अनुसार संक्रमणपछि कन्ट्र्याक्ट ट्रेसिङमा परेका १० जना शिक्षकमा भने संक्रमण देखिएको छैन ।
दुई तीन दिनदेखि ज्वरो आइरहेको बालकको स्वाब परीक्षण गर्दा संक्रमण देखिएको थियो । त्यसलगत्तै उनकी आमामा पनि संक्रमण पुष्टि भएको हो । दोस्रो लहरको कोभिड संक्रमण कम भएपछि विद्यालयहरूमा भौतिक उपस्थितिमै पढाइ हुँदै आएको थियो । तर विद्यालयहरूले स्वास्थ्य मापदण्ड पालना नगरेकाले जोखिम बढेको छ । सबै स्थानीय तहले प्रधानाध्यापक र निजी विद्यालय सञ्चालकलाई सावधानी अपनाएर पठनपाठन सुचारु गर्न अनुमति दिए पनि विद्यालयहरूले यसको पालना गरेका छैनन् । ‘सुरुमा विद्यालयले दुई सिफ्टमा पनि पढाइ गरे, मास्क र सेनेटाइजरको प्रयोग पनि गरे,’ भट्टले भने, ‘तर अहिले कतै पनि सावधानी अपनाइएको छैन, मास्कसम्म प्रयोग गरेको देखिदैन ।’ हात धुने व्यवस्थापन र भौतिक दूरी कायम गर्ने विषय त लगभग हराइसकेको उनले बताए ।