बाजुरा। अटोरिक्सा दुर्घटना गरी फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बडीमालिका नगरपालिका–९ स्थित सुवाकाँधमा अटोरिक्सा दुर्घटना गरी फरार रहेका चालक खेमराज पाध्यायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
अटोरिक्सा चालक पाध्यायलाई बडीमालिका नगरपालिका–२ घागरको जंगलबाट राति करिब १ बजे पक्राउ पारेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी नायव उपरिक्षक चतुर्भुज ओझाले बताएका छन्। आइतबार साझ साढे पाँच बजे सुवाकाँधमा अटारिक्सा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो, भने २ जना घाइते भएका थिए।
दुर्घनामा परी मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–१ का खगेन्द्र पाध्याय र प्रकाश नेपाली रहेका छन्। पाध्याय अम्कोट जनप्रभात आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक र नेपाली नेकपा एमाले बुढीगंगा नगर कमिटी सदस्य समेत हुन्। अटोरिक्सा दुर्घटनामा सोही नगरपालिका–२ बल्देका धनबहादुर केसी र अम्कोटका भीम खत्री घाइते भएका छन्। घाइते केसीको अवसथा समान्य रहेको छ भने खत्रीलाइ गम्भीर चोटपटक लागेकाले जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक ओझाले बताए। दुर्घटना गरी फरार भएका पाध्यायलाई नियन्त्रण्मा लिई घटनाको थप अनुसन्धान भईरहेको उनले बताएका छन् । नियन्त्रण्मा लिएका अटोरिक्सा चालकलाई कानुनी कारबाही गरिने ओझाले बताए ।