बैतडी। बैतडीको सिगासमा भुवा पर्वको रौनक छाएको छ । हरेक बर्ष मंसिर कृष्ण कृष्ण चतुर्दशी र औंसीका दिन भुवा पर्व मनाउने गरिएको स्थानीय राजेन्द्र साउँदले बताए । भुवामा महिला र पुरुषहरु देउडा खेल खेल्ने गर्दछन् ।
महाभारतमा पाण्डवहरुले विजय प्राप्त गरेको उपलक्ष्यमा भुवा पर्व मनाउन चलन चलेको साउँदले बताए । त्यो बेला भएको धर्मयुद्धमा पाण्डवको विजयी भएपछि खुशियाली स्वरूप विजय यात्राको रूपमा यो पर्व मनाइने प्रचलन रहेको किंबदन्ती रहेको छ। यो पर्वको मुख्य आकर्षक पक्ष ‘भुवा नाच’ हो। हातमा (राको) तरवार र ढाल लिई सामुहिक रूपमा बाजागाजा सहित खेलिने यो नाचका सहभागीहरू यो पर्व मनाउने क्रममा घर–घरमा गई ‘भोस्को’ समेत खेल्ने गर्छन् ।
‘भोस्को’ खेलका माध्यमबाट समाजका विकृति–विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने विश्वास गरिएको स्थानीय भानबहादुर बोहराले बताए। भुवा पर्व अन्न लगाएको खेतमा खेलिने पर्व हो । यो पर्व मनाएको स्थान वा खेतमा अर्को वर्ष अन्न उत्पादन बढने जनविश्वास रहिआएको स्थानीय साउँदले बताए । उनले भने ‘सिगासका विभिन्न स्थानमा यो पर्व मनाइन्छ।’ सिगास गाउँपालिका वडा नं ८ रक्सौनस्थित खसरे मन्दिरमा भुवा मेला लाग्ने गर्दछ । सो मेलामा महिला तथा पुरुषहरुले भुवा खेल्ने गर्दछन् । यस्तै धामी झाक्रीहरु भने काँप्ने चलन रही आएको छ ।