बैतडी। बैतडी सदरमुकामबाट बसालीतर्फ जाँदै गरेको से१ज २२६ नम्बरको जिप दोगडाकेदार–३ को तारलमा दुर्घटना हुँदा एक नव बिवाहित जोडीसहित १० जना घाइते भएका छन् ।
दुर्घटनामा परेर तीन दिन अघि बिवाह बन्धनमा बाँधिएका दशरथचन्द–११ बर्तोली बस्ने २३ बर्षिय डम्बर महरा गम्भीर घाइते छन् । दुर्घटनामा उनकी श्रीमती १९ बर्षिया दुर्गा धामी सामान्य घाएते भएकी छन्। दुर्गा र डम्बरको यही मंसिर १४ गते बिहे भएको थियो । बिहे भएको तेस्रो दिन घरबाट माइत जाँदै गर्दा उनीहरु सवार जिप दुर्घटनामा परेको हो ।
कम्मरमा गहिरो चोट लागेका महरालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी ल्याइएको थियो । यहाँबाट थप उपचारका लागि डडेल्धुरा लगिएको उनका गाउँले मोहन कार्कीले बताए । दुर्घटनामा परेर दोगडाकेदार-५ कै २८ बर्षिय वीरसिंह कार्की, उनकी श्रीमती लक्ष्मी कार्की र ८ महिने छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
यस्तै,सोही ठाउका दिपक कार्की, ठेगाना नखुलेका खेमराज भट्ट,दोगडाकेदार-४ का सागर बिष्ट, दोगडाकेदार–७ का नरेश कार्की र दोगडाकेदार–३ का भिम धामी सामान्य घाइते भएको खोचलेक प्रहरी चौकीका इन्चार्ज मोती बमले जानकारी दिए। पहिरो खसेको ठाउँमा चिप्लो सडक रहेको र जिप ३० मिटर तल खस्दा दुर्घटना भएको जस्तो देखिएको खोचलेक प्रहरी चौकी इन्चार्ज बमले बताए । दुर्घटनाग्रस्त जिपका चालक भने फरार रहेका छन् । उनको खोजी भइरहेको छ ।