डडेलधुरा। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ३५ जिल्लाको अधिवेशन सकिएकोमा अन्य जिल्लामा अधिवेशन जारी छ । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनकालागि अब १३ दिन मात्रै छ ।
तर, क्रियाशील सदस्यताको विवाद समाधान गरी महाधिवेशनमा होमिँदा विभिन्न जिल्लाको अधिवेशन विवादास्पद बनिरहेको छ । त्यहीमध्ये डडेलधुरामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले एकलौटी रुपमा अधिवेशन गरेको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहित नेता कार्यकर्ता केन्द्रीय कार्यालयमा ११ दिनदेखि रिले अनशनमा बसेका छन् ।
तर, उनीहरूको मागबारे अहिलेसम्म कुनै सुनुवाई भएको छैन । बरु जिल्ला सभापति मल्लसहित बहुमत सदस्यको अनुपस्थितिमा देउवा पक्षले जिल्ला अधिवेशनबाट सभापति देउवा, उनकी पत्नी आरजु राणासहितलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत चयन गरिसकेको छ ।यस्तै डडेलधुरासहित विभिन्न जिल्लामा देखिएका विवादबारे केन्द्रीय निर्वाचन समितिसमेत अनिर्णित छ । डडेलधुराका विषयमा आन्दोलनरत पक्षसँग केही दिनअघि भनाभन भएपछि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पुनः पदबाट राजीनामा दिएका छन् ।
उनी त्यो दिनदेखि कार्यालय समेत गएका छैनन्। डडेलधुराको विवादास्पद अधिवेशनबारे निर्णय गर्न नसकिएको निर्वाचन समितिका एक सदस्यले बताए । समाचार स्रोतका अनुसार निर्वाचन समितिका संयोजक यादव केही दिनदेखि काममा नआएको पुष्टि गरे । ‘अहिले हाम्रा लागि पलपल किम्ति समय हो । तर, उहाँ कार्यालय आउनुभएको छैन। त्यसकारण पनि कतिपय निर्णय हामीले गर्न सकेका छैनौं,’ ती सदस्यले भने, ‘अब विवादका विषयमा निर्वाचन समितिको बहुमतको हिसावले निर्णय गर्नुपर्ने अवस्था बनिरहेको छ ।’
स्रोतका अनुसार निर्वाचन समिति संयोजक यादवले जिल्लाका नेताहरूको दबाबलाई थेग्न नसकेर पदबाटै राजीनामा दिएका छन् । उनले यसअघि पनि राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत भएको थिएन । ‘उहाँले तनाव लिएर जिम्मेवारी निभाउन चाहनुभएको छैन । सहज अवस्थामा महाधिवेशन सम्पन्न गर्न सकिने अवस्था पनि छैन, विवाद आइरहेका छन्,’ उनीनिकट एक अधिवक्ता भन्छन्, ‘त्यसैले उहाँले जिम्मेवारीबाट मुक्त हुन खोजिरहनुभएको छ ।’ सभापति देउवाले नै यादवलाई निर्वाचनको काम पूरा गरिदिन आग्रह गर्दै आएका छन् । यादव यसअघि कांग्रेसकै सरकार भएका बेला महान्यायधिवक्ता समेत भएका थिए ।
उनको राजीनामा स्वीकृत गर्ने वा नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउने भन्नेबारे कांग्रेसमा छलफल भएको छैन । कांग्रेसले यादवको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएको थियो । अधिवक्ताहरू गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एगराज पोखरेल समितिका सदस्य थिए । तर, देउवाले खातीलाई महान्यायधिवक्ता बनाएपछि उनको ठाउँमा तेजबहादुर रावल नियुक्त भएका थिए । समितिको सचिवका रुपमा केशव रिजाल र जगन्नाथ श्रेष्ठले काम गरिरहेका छन् ।