बैतडी। बैतडीमा डुङ्गा चालकले मनोमानी शुल्क लिँदा स्थानीय समस्यामा परेका छन् । महाकाली नदीमा झोलुंग पुल नहुँदा स्थानिय डुंगा मार्फत महाकाली नदी तर्नुपर्ने भएपनी डुङ्गा चालकले मनोमानी शुल्क लिँदा बैतडीका स्थानीयहरुलाई समस्या भएको हो ।
बैतडीको शिवनाथ गाउँपालिका १ बछेलाका हरिसिंह साउँद केही दिन पहिला औषधि उपचारका लागि भारत पुगे। महाकाली नदीमा झोलुंग पुल नहुँदा उनी डुंगा मार्फत महाकाली नदी तरेर भारत पुगे। तर उनले एकपटक भारतीय क्षेत्रमा जाँदा डुंगा चालकलाई चार सय भारतीय रुपैंया शुल्क तिरेको बताएका छन्। फेरी फर्किँदा उसैगरी चारसय भारु तिरेर नेपाल भित्रिए । उनले भने ‘हामी दैनिक जसो सीमावर्ती भारतीय बजारमा जाने गरेका छौं । तर डुंगा चालकहरुले मनोमानी शुल्क लिँदा हामी निकै समस्यामा परेका छौं ।’
तल्लोसोराडका शिवनाथ र पञ्चेश्वरका अधिकांश नागरिक दैनिक उपभोग्य सामग्री, औषधि उपचार लगायत अन्य कामका लागि भारतीय बजारमा जाने गरेका छन् । तर पछिल्लो समयमा डुंगा चालकले मनोमानी शुल्क लिन थालेपछि उनीहरु मारमा परेका छन्। डुंगा चालकले आफूखुसी एक पटक तारेको ६ सय रुपैया लिने गरेको शिवनाथ गाउँपालिका १ बण्डका माधवसिंह साउँदले बताएका छन्। उनले भने ‘हामी सीमावर्ती भारतीय बजारमा विभिन्न कामका लागि पुग्ने गर्दछौं । वारीपारी इष्टमित्रहरु पनि छन् । तर डुंगा चालकहरुले मनोमानी शुल्क लिँदा हामीलाई धेरै समस्या भएको छ ।’
बैतडीको तल्लोसोराडका आधा दर्जन बढी घाटमा डुंगा मार्फत आवतजावत गर्ने गरिएको छ । प्रशासन र स्थानीय सरकारले डुंगा चलाउन रोक लगाएको भनेपनि चालकहरुले मनोमानी डुंगा सञ्चालन गरिरहेका छन् । नियमनकारी निकायहरुको ध्यान नजाँदा स्थानीयहरु दैनिक रुपमा ठगिँदै आएका छन् ।
महाकालीमा डुंगा चलाउन रोक लगाउनुभन्दा पनि व्यवस्थित गरेर सञ्चालनमा ल्याउनुपर्ने स्थानीयबासीहरुको माग छ । महाकाली नदी तर्न अन्य विकल्प नभएकाले घाटहरुलाई व्यवस्थित बनाएर सञ्चालन गर्नुपर्ने स्थानीय बल्देवसिंह चाडले बताए । उनले भने ‘हामी सीमाका नागरिकलाई भारत जानै पर्ने बाध्यता छ । हामी इष्टमित्र र अन्य कामका लागि समेत भारत पुग्ने गर्दछौं । त्यसैले स्थानीय सरकारहरुले घाटहरु व्यवस्थापन गर्नु आवश्यक रहेको छ ।’
गत कार्तिक १० गते भएको डुंगा दुर्घटनामा दुई जना बालबालिकाको ज्यान गएसंगै अहिले नागार्जुन (खाँड) घाट बन्द छ । तर अन्य घाटहरुमा भने डुंगा चलि नै रहेका छन् । डिम्बर घाटमै अहिले डुंगा चालकले एकजनाबाट चारसय भारु लिने गरेको स्थानीय रुमला साउँदले बताइन् । उनले भनिन् ‘हामीले महाकाली नदी तर्न डुंगा प्रयोग गर्नुपर्ने बाध्यता रही आएको छ । तर अहिले हामी डुंगा मार्फत ओहोरदोहर गर्दा चर्को शुल्क तिर्न बाध्य भएका छौं ।’
डुंगा चालकहरुले भने बढी शुल्क नलिएको दाबी गरेका छन् । पञ्चेश्वर गाउँपालिका वडा नं २ का वडा सदस्य समेत रहेका रामसिंह मंगोलाले डुंगा सञ्चालन गर्न ५ जना चालक राख्नुपर्ने बाध्यता रहेकाले पहिलाको तुलनामा केही महंगो शुल्क भएको बताए । उनले भने ‘कोरोना कहरदेखि डुंगा बन्द थियो । भर्खर घाटहरु सञ्चालनमा आएका छन् । नदीमा पानीको बहाव पनि बढी छ । त्यसैले शुल्कमा केही तलमाथि भएको छ ।’