काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनमा आफू अध्यक्ष उठ्ने घोषणा गरेका छन्। आइतबार राजधानीको रिपोर्टर्स क्बलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रावलले मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
रावलले आफ्नो उम्मेदवारीलाई स्वभाविक रूपमा लिएर सद्भाव प्रदर्शन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आगामी दशौं महाधिवेशनमा अध्यक्ष पदमा आफूलाई समर्थन गर्न केपी अोलीलाई आग्रह गरेका छन्। आइतवार पत्रकार सम्मेलन गरि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले पार्टी फुटको बेला आफूलाई भरोसा गर्न र अध्यक्षमा सघाउन आग्रह गरेका हुन्।
रावलले अध्यक्ष ओलीले ७० वर्षको उमेरसम्म पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री भई जिम्मेवारी वहन गरिसकेको र यसअघि नदोहोरिने समेत भनेकाले आफू अध्यक्षमा उम्मेदवार दिन अग्रसर भएको बताएका छन् । पछिल्लो समय एमालेमा अध्यक्ष ओलीलाई अरू नेताले चुनौती दिन सकेका थिएनन्। गत भदौमा पार्टी विभाजन भएपछि एमालेमा रहेका नेताहरूले दशौं महाधिवेशनमा पनि अध्यक्षमा ओलीको विकल्प नभएको बताइरहेका छन्। रावलले भने आफूले पार्टी राम्ररी हाँक्न सक्ने भएकाले आफूमाथि भरोसा गर्न ओलीलाई आग्रह गरेका छन्।
यस क्रममा उहाँले देश रजनताको लागि गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन्,’ रावलले भनेका छन्। रावलले ओलीले यसअघि नै फेरि अध्यक्षमा नउठ्ने घोषणा गरेको पनि स्मरण गराएका छन्। उनले भनेका छन्- उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनःअध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो। उहाँको यस्तो कार्य र घोषणाको सम्मानकोलागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु। पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामनागर्न केही कठिनाई हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिकआग्रह गर्दछु। रावलले आफूले अध्यक्ष पदको जिम्मेवारी पाए ओलीको महत्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन सदा तत्पर रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।